ठूला नेताको मन जितेर नेता बन्ने दिन सकिए : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पार्टीभित्र नेताको मन जितेर नेता बन्ने प्रणालीको अन्त्य गर्नुपर्ने आवश्यकता भइसकेको बताउनुभएको छ । उहाँले जनता र कार्यकर्ताको मन जिते मात्रै नेता बन्न सकिने मान्यता स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले पार्टी र सरकारका काम कारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुआत गर्न पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त धारणा राख्नुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘सरकार र पार्टीको कामलाई योजनाबद्ध र व्यवस्थित गर्न तयार भएको कार्यविधिअनुसार आजबाट भेटघाट शुरु गरिएको छ ।

सामान्य किसानदेखि कार्यकर्तासम्मले आफ्नो प्रधानमन्त्री भेट्ने वातावरणको निम्ति बनाइएको कार्यविधिलाई कार्यान्वयनमा व्यावहारिक रुप दिनुपर्छ ।’ उहाँले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न पार्टी पंक्तिलाई निर्देशनसमेत दिनुभएको छ ।
 

टिप्पणीहरू