नेपालगञ्जमा एमालेका युवा ‘डन’ हरुको जगजगी

नेपालगञ्जमा एमालेका युवा ‘डन’ हरुको जगजगी

एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको महाधिवेशन शुरु भएको छ । एक दशकपछि संघको नेतृत्व प्रत्यक्ष रुपमा चुनिन लागेको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्ति उद्घाटन गर्नुभएको महाधिवेशनको हिजोको बन्द सत्रमा नेतृत्व चयनको विषय प्रवेश गरेको थियो । सँधै सहमतिमा नेतृत्व चयन गर्ने अडानमा रहँदै आएका एमाले नेताहरु यस पटक ‘चुनाव’ भनेर काठमाडौं फर्किएका छन् । उद्घाटनमा अध्यक्ष ओलीसहित झण्डै एक दर्जन नेता पुगेका थिए ।

चुनावमा प्यानलको कुरो अस्तिदेखि नै चर्चामा ल्याइएको बताइन्छ । क्षितिज थेवे र सन्तोष रावलबीच अध्यक्षमा प्रतिस्पर्धा हुने खबर एकथरीले अस्तिदेखि अधिवेशन हलमा  फिँजाएका हुन् । थेवे सांसद उर्मिला थेवेका छोरा हुन् । उनीहरु उपाध्यक्ष सुवास नेम्वाङका नजिकका नातेदार पनि हुन् ।

अधिकांश प्रतिनिधिले थेवेलाई भोट हाल्न उर्दी अस्ति प्राप्त भएको बताएका छन् । ‘सँधै बाहुन र तागाधारीले मात्रै नेतृत्व लिनुपर्छ भन्ने छैन,’ भन्ने खालको सन्देशसहित थेबेको पक्षमा उर्दी आएको एक जनाले जानकारी दिए । थेवे पारिवारिक रुपमा पूरानो एमाले भएको बताइएको छ । 

अर्कोतर्फ रावललाई सबैले बोकेको भनिए पनि नेताहरु कोही खुलेका छैनन् । उनीहरुले सहमति गर भनेपनि चुनाव नगर भनेका छैनन् । ‘बाले पनि लड्छौ भने लड, जो आए पनि एमाले आउने हो, काँग्रेस, माओवादी आउने होइन,’ भनेर काठमाडौं जानुभएको अर्का एक जना प्रतिनिधिले उल्लेख गरे । यता सचिवमा दुई जना ‘डन’ भिडेका छन् । काभ्रेका अमित लामा र सिन्धुलीका पुष्प श्रेष्ठ सचिवका उम्मेदवार हुन् । श्रेष्ठ पहिले काँग्रेस त्यसपछि माओवादी हुँदै एमालेमा छिरेका थिए । 

माहौलले अध्यक्ष उम्मेदवार रावलकातर्फबाट उपाध्यक्ष र सचिवले जिते पनि अरु सबै पदमा थेबेले जित्ने आकलन गर्न थालिएको छ । पूर्वअध्यक्षहरुमध्ये किरण पौडेल क्षितिजसँग रावलन्दा केही नजिक देखिएका छन् ।

महाधिवेशनमा खटिएको निर्वाचन आयोग कुनै हालतमा चुनाव गराउनैपर्ने मान्यतामा अडिग रहेको देखिएको छ । आयोग सदस्यहरु महेश बस्नेतले भनेको टिम ल्याउने योजनामा रहेको बताइन्छ । बस्नेत समूहले युवा संघमा अलि उग्र साथी ल्याउनुपर्ने भन्दै लबिङ थालेका हुुन् ।

सदस्यमा मनोनयन गर्न १५ हजार शुल्क तोकिएपछि कतिपय झसंग भएको बताउँछन् । अझ पदाधिकारीको निम्ति त्यो भन्दा बढी शुल्क तोकिएको छ । जबकी महिनाको सदस्यता शुल्क ४५ सय, एक हजार प्रतिनिधि शुल्क र अर्को एउटा पाँच हजार शुल्क तिर्दा सदस्यले वर्षको कम्तीमा ११ हजार संघलाई बुझाउनुपर्ने हुन्छ । 

माओवादीको तर्फबाट संघमा रहेकामध्ये अमित लामाले रसुवाका रोशन तामाङलाई ल्याउन खोजेको देखिन्छ । अमित लामा काभ्रेका धनीमध्ये एक हुन् । पुष्प र रोशन पूर्व माओवादीबा संघमा प्रवेश गरेका थिए ।

महाधिवेशन प्रतिनिधिहरुमध्ये स्नेहा होटलमा संस्थापन पक्षका र अरुलाई साधारण होटलमा राखिएको भन्दै केहीले असन्तुष्टि व्यक्त गरेका छन् । तर उनीहरुले खुलेर असन्तुष्टि राख्न सकेका छैनन् ।

टिप्पणीहरू