बालेन साहसँग छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव, मेयरको शैली गलत भएको गगनको टिप्पणी

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुपष्कमल दाहाललाई काठमाडौं महानगरपालिकाका मेयरसँग तत्काल छलफल गर्न सुझाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद थापाले सिंहदरबारको फोहोर नउठाउने मेयरको घोषणापछि महानगरपालिकासँग वार्ता गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘महानगरपालिकाले फोहोर नउठाउने भनेको छ । त्यसैले बिना आग्रह  काठमाडौं महानगरपालिकासँग छलफल गरियोस् । जायज मागहरु पूरा गरियोस् र हामी काठमाडौंका जनप्रतिनिधिहरुलाई पनि यो प्रक्रियामा सामेलत गराइयोस् ।’

थापाले निर्वाचित जनप्रतिनिधि र स्थानीय सरकारका प्रमुखले असहमतिको नाममा  अत्यावश्यक सेवा अवरोध गरेर आफ्नो माग सुनुवाइ गराउने शैलीको बारेमा पनि प्रश्न उठाएका छन् । सांसद तथा काँग्रेस नेताले भने, ‘उनले सामाजिक सञ्जालमा प्रयोग गरेको भाषा, लवजबारेमा पनि छलफल गर्नुपर्ने देखिएको छ । तर, त्यो पछि गरौंला ।’
 

टिप्पणीहरू