कथा त्यहाँको, जहाँ बिएस राणाका पत्नी र पुत्रीहरुलाई राखिएको छ

कथा त्यहाँको, जहाँ बिएस राणाका पत्नी र पुत्रीहरुलाई राखिएको छ

बलेको आगो ताप्ने दुनियाँ न हो यो । जीवनको तीन दशक नेपाली कलाकारिता क्षेत्रमा योगदान पु¥याएका धुरन्धर, वरिष्ठ चलचित्र कलाकार बीएस राणाको देहवसानपछि परिवारको अवस्था के–कस्तो छ ? न सिने क्षेत्रका कुनै कलाकारले सोधखोज गरेका छन्, न त खोजेका चलचित्र र कलाकारसँग सम्बन्धित संघ/संस्थाले नै चासो राखेका छन् ? जीवित हुँदासम्म वाहवाहीको पात्र थिए कलाकार राणा । कोसेली, चिनो, दुई थोपा अंश, नेपाली बाबु, करोडपति, दर्पण छायाँ–२, सेतोबाघ, हवल्दार सुन्तली, काफल पाक्यो, संबोधन, साथी म तिम्रो, आई एम सरी, कसले चो¥यो मेरो मन, दासढुंगालगायत चर्चित सिनेमामा जीवन्त अभिनय गरेर चर्चा कमाएका उनले बिरामी पर्दा औषधोपचार गर्ने पैसा पाएनन्, देहान्त भएपछि परिवारले अन्तिम संस्कार गर्न एउटा कात्रोसम्म जुटाउने अवस्था रहेन ।

त्यही कारण डिप्रेसनले यसरी गाल्दै लग्यो कि बीएसकी श्रीमतीले आफ्नै छोरीहरू समेत चिन्न छाडिन् । श्रीमती र छोरीहरू अहिले एउटा आश्रममा जीवन व्यतित गरिरहेका छन् । बीएस राणाका परिवारझैँ १७ जना नानीबाबुसहित ८१ जना अधवैंशे महिलालाई आश्रय दिएर राखिएको छ, श्री नेहा पोखरेलद्वारा सञ्चालित नेपाल स्नेही काख कुसुन्तीमा । स्नेही काखको स्नेह पाएर अहिलेसम्म ७० जनाभन्दा बढी निको भईवरी घर फर्किएका छन् । दुर्घटना, इमोसनल, एकान्तपना यी डिप्रेशनका कारण हुन् । थाहा छैन बाहिर सद्धे देखिएको मान्छे भित्रभित्रै चरम डिप्रेशनबाट गुज्रिरहेको पनि हुन सक्छ । आज सद्धे मान्छे, परिस्थितिवश भोलि डिप्रेसनमा पुगेर घरपरिवारबाट त्यागिन पनि सक्छ । 

यस्तै डिप्रेसनबाट गुज्रिएका बिरामीको उद्धारमा लाग्दा लाग्दै बदलिएको हो श्री नेहाको जीवनको बाटो÷गन्तव्य । बीएस राणाकी छोरीझैं श्रीनेहाको पनि मानसपटलमा रहर थिए मोडल बन्ने अर्थात ग्ल्यामरको दुनिँयामा हराउने । यही रहरलाई पच्छ्याउँदै जीवनका केही वर्ष हिँडिन् त्यही बाटो । मान्छेको जीवन रहर, बाध्यताले कम र संयोगले बढी चल्छन् । यस्तै संयोग आइलाग्यो श्रीनेहाको जीवनमा पनि । यही मोड पछि मोडियो जीवनको बाटो । पढाइ पत्रकारिता र समाजशास्त्र । मनको उत्कट चाहनालाई पछ्याउँदै केही प्रतियोगितामा भाग लिइन् र सफलता पनि प्राप्त गरिन् । केही मुभीमा काम पनि पाइन् । संयोगवश, जीवनमा यस्तो मोड आइपुग्यो जसले बदल्यो जीवनका सपना, गन्तव्य र नक्सा । त्यसैले त भनिएको होला जिन्दगी पानीको फोकाजस्तो हो । केही भर छैन । कहाँ पूरा हुन्छन् र सबै रहर ? 

गन्यमान्य पनि छन्, कतिपय बिजनेश म्यान, जसका श्रीमान् बाहिर छन् । केही वकिलका श्रीमतीहरू मानसिक रोगले गाँजेर बेवारिस बनेका छन् ।

२९ वर्षअघि जन्मिएकी श्रीनेहाको पिता बित्नुभयो बालखैमा । बुवाले दिने मायासमेत आमाले दिएर हुर्काउनुभएको हो । विद्यालय र कलेज तहको अध्ययन पूरा गरेसँगै सात वर्षसम्म जेम्स स्कुलमा नृत्य प्रशिक्षण गर्न थालिन । यसका साथैं मोडलिङ प्रतियोगिताहरू, नृत्य, अभिनयमा जमिएकै थियो । कलेजबाट फर्कंदै गर्दा एक दिन आँखाअगाडि ठोक्किन आइपुगे एक मानव । जसको मानसिक सन्तुलन ठीक थिएन । कुलोको फोहोर पानी निकै कष्टसँग पिइरहेका थिए । प्यारले बोलाएर बोतलको पानी पिउन दिनुभयो । भोलिपल्टदेखि उनकै लागि केही न केही खानेकुरा बोकेर जाने र खुवाउने दैनिकी हुन थाल्यो । करिब एक सतासम्म चल्यो यो सिलसिला । घरपरिवारसँग सरसल्लाहपछि ती व्यक्तिलाई उठाएर लगिन् बाटोबाट । नुहाई धुवाई गरिवरि कपाल काटेर नयाँ लुगा लगाइदिएपछि स्वरूप फेरियो । अस्पतालमा उपचार प्रक्रिया चल्यो । यसरी उपचार शुरू गरिएका उनलाई फेरि बाटोमै छोडे केही अर्थ थिएन । पुनः बाटोमै छाड्न मनले मानेन ।

सधैँभरि आफ्नै घरमा राख्न पनि सक्ने स्थिति थिएन । उनको सुधार हुँदै गर्दा कानमा ठोक्कियो बालुवाटारमा एक जना अधबैंशै महिला उसैगरी मानसिक सन्तुलन गुमाएर हिँडिरहेको । उनको पनि उपचार प्रक्रिया प्रारम्भ भयो । यसरी एकपछि अर्काे मानसिक रोगीको सेवामा अनायासै जोडिन पुगिन् । उपचार प्रक्रिया चल्दै गर्दा केही ठीक हुँदै गए । ठीक भएका बेवारिसेहरूलाई कहाँ पठाउने, फेरि सडकमै ? मनले मानेन । उपचार सिलसिला चल्दै गर्दा बेचिए लगाइरहेका गहना, भनिएन नयाँ र ब्राण्डेड मोबाइल र मानसिक सन्तुलन गुमाएकाहरूको उपचारमा खर्च भयो । 

बेवारिसे र मानसिक रोगीको उपचार र सेवा सुश्रुषा गर्ने उद्देश्यले एउटा टिम बन्यो । भनिन्छ नि एक थुकी सुकी, सय थुकी नदी । टिममा केशवप्रसाद रिजाल, रमिला पोखरेललगायत सात जना थिए । र, दर्ता भयो स्नेही काख । संस्था दर्ता हुँदा श्रीनेहाको उमेर १६ वर्षको मात्र थियो । करिअर बनाउने, पैसा कमाउने समय थियो त्यो । आफ्नो करिअर र आर्थिक अवस्था बलियो बनाउन लागि पर्ने उमेरमा त्यो समूह भने बिरामी र बालबच्चाको उद्धारमा हिँडिरहेको थियो । आफ्नो जीवन उनीहरूकै सेवामा समर्पित गर्ने सोच तर समाजै यस्तै छ, ग्यालिलियो, बुद्धलाई पागल देख्छ, जिससलाई ढुंगा हान्छ । त्यस्ता महामानव त खेदिएको समाजमा श्रीनेहाको समूहलाई पागल भन्नेको जत्था ठूलै थियो । संस्था जन्माउनु ठूलो कुरा भएन । जन्माइएको संस्था टिकाइरहनु मुख्य थियो । त्यसका लागि चाहिन्थ्यो पैसा । न पर्याप्त पैसा न त कानुनी जानकारी, यद्यपि भगवान भरोसा थियो– ‘तँ आँट म पु¥याउँछु ।’ संस्थाका लागि चाहिएको थियो मनोरोगी राख्ने घर । कहाँ भेटिन्छन् र यो खाल्डोमा मनकारी घरधनी वा जग्गाधनी ? कोही तयार भएनन्, जग्गा भाडामा दिन । मानसिक रोगीलाई राख्ने भन्नेबित्तिकै जग्गाधनी पन्छिहाल्थे । कुसुन्ती हाइटको एउटा जग्गा, जहाँ थियो फोहोरको डंगुर, टोलभरिको फोहोर थुपार्ने ठाउँ । त्यहीँमाथि बग्थ्यो ढल । फोहोरको डंगुर आफैंले सफा गरेर सोहीमाथि जन्मियो नेपाल स्नेही काख । जीवनमा एउटा समस्या समाधान हुन्छ, फेरि झुत्ती खेल्दै आइपुग्छ अर्काे समस्या । स्नेही काखमा मानसिक सन्तुलन गुमाएका व्यक्तिहरू राखिएको थाहा पाएपछि टोलभरका मानिसले दुःख दिने सिलसिला शुरु भयो । कस्ता–कस्ता उपद्रव हुन थाल्यो भने समाजका कोही व्यक्ति फोहोरको पोका फालिदिन्थे त कोही महिलाले प्रयोग गरिसकेका प्याड फाल्थे । यद्यपि, सहनुबाहेक केही विकल्प थिएन । फेरि उजुर कसलाई गर्ने ? सिंगो टोल नै स्नेही काखको खिलाफमा थियो ।

तर, समय सदैव एकनाश कहाँ चल्छ र ? लक्ष्य, उद्देश्य र गन्तव्य पवित्र भएपछि खराब सोच्नेहरू आफैँ सच्चिँदै जाँदा रहेछन् । संस्थामा रहेका मानसिक रोगीको सुधार भएको देखेपछि उनीहरूको व्यवहार पनि परिवर्तन हुँदै गयो । कुरा काट्नेकै जमात छ हामीकहाँ । कोही भन्थे, डलर कमाउनका लागि संस्था खोलेका । तर, टोल छिमेकमा भेटिएका, घरपरिवारबाट बहिष्कृत, बाटोमा अलपत्र बसिरहेका, प्रहरी वा समाजबाटै मानसिक रोगी भेटिएसँगै स्नेही घरमा जिम्मा लगाउने क्रम बढ्न थाल्यो । संस्थामा अहिले ९० हाराहारी मनोरोगी छन् । कसुन्ती र धापाखेलमा गरी तिनका औषधोपचार, खानपानमा मासिक झण्डै दश लाख हाराहारी खर्च हुन्छ । केही सेलिब्रिटी, समाजका अगुवा, गन्यमान्य आफ्नो जन्मोत्सवमा आश्रममा आएर उहाँहरूलाई खुवाउनुहुन्छ । र, केही भरथेग भइरहेको छ । स्वभावैले मानसिक रोगीहरू आक्रामक हुन्छन् । कोही कराउने, भुत्ल्याउने, चिथोर्नेदेखि जेले भेट्यो त्यहीले हान्ने । केही त हातमा टोकिदिन्छन् । उद्धारका क्रममा मानसिक रोगीले हातमै टोकिदिने यी घटना त अब सामान्य लाग्छन्, श्रीनेहाका सञ्चालकलाई ।

यी त दैनिकी नै भएको छ । यस्ता मनोरोगी माया र स्नेहका भोका हुन्छन् । माया र स्नेह दिएको खण्डमा पूर्ववत् अवस्थामा फर्कन सक्छन् । परिवार, आफन्तबाट माया नपाएर डिप्रेशनमा गएकाहरू धेरै छन्, उहाँहरू यहीँ आएर ठीक भईवरी फर्कनुभएको छ । धेरै छन् टुटेको र दुखेको दिल बोकेर हिँड्नेहरू । कति आफ्ना पीडा दुनियाँसामु देखाउँछन्, कतिले लुकाउँछन् । यस्तामा गन्यमान्य पनि छन्, कतिपय बिजनेश म्यान, जसका श्रीमान् बाहिर छन् । केही वकिलका श्रीमतीहरू मानसिक रोगले गाँजेर बेवारिस बनेका छन् । तिनलाई समेत रेस्क्यु गरेर स्नेही घरमा ल्याइएको छ । उपचारपछि उहाँहरूकै घर परिवारको जिम्मा लगाएर पठाइएको छ । शुरुमा घरपरिवार, आफन्त केही जानकारी नभएका र डिप्रेसनमा गुज्रिएकाहरू माया, प्रेमले विस्तारै पूर्ववत् अवस्थामा फर्किएका छन् । बेघरहरू साना हस्तकलाको काममा संलग्न भइरहेका छन् । 

राज्यले नीति त बनाएको छ मनोरोगीलाई मासिक भत्ता दिने तर बाटामा अलपत्र भेटिएका ती मनोरोगीसँग नागरिकता हुँदैन । राज्यले नागरिकता नभई भत्ता दिँदैन । मानसिक रोगीलाई पनि राज्यले एउटा नागरिककै हैसियतले व्यवहार गरोस् भन्ने मात्र चाहना छ श्रीनेहाको । – निर्जला गौतम, कुसुन्ती 
 

टिप्पणीहरू