मंसिरमा पाखा, बैशाखमा लौ' खा

मंसिरमा पाखा, बैशाखमा लौ' खा

एमालेमा मौलाएको 'बा' प्रवृतिको कोपभाजनमा पारिएका पूर्वमन्त्री तथा एमाले नेता पुरुषोत्तम पौडेल अन्तत: चुनावी प्रतिष्पर्धामा हेलिएका छन् । बैशाख १० मा हुने उपचुनावका लागि आज उनले बारा-२ बाट उम्मेदवारी मनोनयन गराए ।

एमालेमा पौडेल पुराना तथा इमान्दार नेताका रुपमा चिनिन्छन् । तर, २०७० को चुनावपछि उनी माननीय हुन पाएका छैनन् । सुशील कोइराला नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री रहेका पौडेल ०७० मा बारा क्षेत्र नम्बर ६ बाट सभासद भएका थिए । त्यसयता एमालेमा झाँगिएको गुट राजनीतिले किनारामा पार्दै लग्यो । जसका कारण ०७४ र ०७९ को चुनावमा टिकट पाएनन् । 

एमालेले दुबै निर्वाचनमा बारा १ बाट अध्यक्ष केपी ओलीलाई 'बा' भन्ने अच्युत मैनालीलाई उम्मेदवार बनायो । पौडेलले रुचि राखेको क्षेत्रमा टिकट पाएका मैनालीले जिते पनि । पूर्वमाधव समूहका नेता भनेर विगतमा टिकटबाट बन्चित गरिएका पौडेललाई उपचुनावमा भने बलिया प्रतिष्पर्धीसँग भिडेर परिणाम आफ्नो पक्षमा ल्याउने चुनौती छ । 

सत्ता गठबन्धनको साथ पाएका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव बारा-२ मा प्रभावशाली उम्मेदवार हुन् । यादव समुदायको उल्लेख्य भोट रहेको यस क्षेत्रमा मंसिरको चुनावमा जसपाकै रामसहाय प्रसाद यादवले जितेका थिए । त्यतिबेला उनको जितमा एमालेको भोट समेत मिसिएको थियो । 

सप्तरी-२ बाट सिके राउतसँग चुनाव हारेका उपेन्द्रलाई सांसद बनाउनैका लागि रामसहायलाई उपराष्ट्रपति बनाएर खालि गराइएको यस क्षेत्रमा शिवचन्द्र कुशवाहा अर्का सशक्त उम्मेदवार हुन् । गत निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रहेका उनी माओवादी केन्द्र छोडेर जनमतमा प्रवेश गरेका छन् । रामसहायसँग जम्मा ३५४ भोटले हारेका कुशवाहलाई तराईमा उदाउँदै गरेको जनमतले च्यापेपछि थप बलियो उम्मेदवार ठानिएको छ । 

त्यस्तै,पूर्वडिआइजी रमेश खरेलको उम्मेदवारीले पनि चुनावी परिणाम प्रभावित पार्ने देखिन्छ । मधेसमा स्वतन्त्र पार्टीको क्रेज नभए पनि प्रहरीमा जागिरे रहँदा छिमेकी जिल्ला पर्सामा काम गरेका खरेल त्यस क्षेत्रमा राम्रै मानिन्छन् । त्यसकारण बारा-२ को उपचुनावमा मूलत: त्रिपक्षीय भिडन्त हुने देखिन्छ । 

यस्तो अवस्थामा बरु पार्टीले हारोस् तर पुरुषोत्तम पौडेललाई टिकट कुनै हालतमा हुन्न भन्ने ०७४ र ०७९ को निर्णय उल्टाउँदै एमालेले अन्तिममा उनकै नाम अघि सार्नुको कारण हो, अर्को बलियो उम्मेदवार नपाउनु । चितवन-२ र तनहुँ-१ मा दुई दिनअघि नै उम्मेदवार फाइनल गरेको एमालेले बारा-२ मा भने उम्मेदवार खोज्दाखोज्दै ढिला गरेको हो । अर्को पार्टीबाट प्रभावशाली व्यक्तिलाई तानेर टिकट दिने रणनीति असफल भएपछि पौडेलले टिकट पाएको एमालेकै नेताहरु बताउछन् । 

खासगरी अघिल्लो चुनावमा झिनो मतान्तरले हारेका शिवचन्द्र कुशवाहलाई पार्टीमा प्रवेश गराएर टिकट दिने एमालेको रणनीति थियो । तर, उनले जनमत रोजेपछि त्यत्तिकै हाइटको उम्मेदवार अरु नभेट्दा एमाले नेतृत्व पौडेल रोज्न बाध्य भएको बताइन्छ । सत्ता गठबन्धनका दुई ठूला दल काँग्रेस र माओवादीसहित आधा दर्जन पार्टीको समर्थनमा उम्मेदवार बनेका उपेन्द्रविरुद्ध पौडेललाई मैदानमा उतारेर 'सुवास नेम्वाङ' बनाउन खोजिएको एमाले वृत्तमा यतिबेला चर्चा छ । 

'सुवास नेम्वाङलाई राष्ट्रपति र अष्टलक्ष्मीलाई उपराष्ट्रपति बनाइ सकेपछि पुरुषोत्तम पौडेललाई बाराबाट सांसद बनाउने पालो आएछ !', एमालेका एकजना मझौला नेताले व्यंग गर्दै भने ।

टिप्पणीहरू