बहुमतको कारवाहीमा परेका मेयरको पक्षमा एमालेको नारावाजी

बहुमतको कारवाहीमा परेका मेयरको पक्षमा एमालेको नारावाजी

सिरहाको गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठमाथि हिजो भएको आक्रमणको विरोधमा नेकपा एमालेका कार्यकर्ता आज सडकमा ओर्लिएका छन् । आक्रमणकारीलाई तत्काल कारवाहीको माग गर्दै एमाले युवाहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले गोलबजारस्थित राजमार्गमा टायर बालेर सडक अवरुद्ध पारेका छन् ।   

एमालेबाट निर्वाचित मेयर श्रेष्ठमाथि हिजो मोबिल आक्रमण भएको थियो । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला एकजना अपरिचित व्यक्तिले केही कागज दिएजस्तो गरिरहेकै बेला सँगै आएका अर्का व्यक्तिले मेयर श्रेष्ठमाथि मोबिल छ्यापेका थिए । त्यहाँ नेकपा (बहुमत)को जनसंघर्ष परिचालन समितिको पर्चासमेत भेटिएको थियो ।  

मेयर श्रेष्ठले लघुवित्तमार्फत् गरिब जनतालाई उठिवास लगाएको, मिटर व्याजीहरुलाई संरक्षण गरेको,  बजारको करमा एक करोड ५२ लाख ब्रम्हलुट गरेको भन्दै जनकारवाही गरेकाे पर्चामा उल्लेख गरिएको छ ।

त्यस्तै, फर्जी कागज बनाई गोलबजार- १ मुक्सार बाटोको ६२ लाख हिनामिना गरेको, अवैधानिक तरिकाले नदी दोहन गरेको, अन्यायपूर्ण तरिकाले नगरपालिकामा कार्यरत कर्मचारी हटाइएको र आफ्ना नेता-कार्यकताविरुद्ध सुराकी गरेकोले उनलाई जनकारवाही गरेको जनाइएको छ ।

बहुमतको 'जनकारवाही'मा परेका मेयर श्रेष्ठ पूर्वमन्त्री तथा एमालेका सांसद लिलानाथ श्रेष्ठका भाइ हुन् । प्रहरीले यस घटनमा संलग्न रहेको आरोपमा सिराहाकै नहरा गाउँपालिकाका साधुशरण महरालाई पक्राउ गरेको छ । उनी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट फुटेको नेकपा (बहुमत)को कार्यकर्ता भएको बताइएको छ ।

टिप्पणीहरू