छोराछोरी सरकारी स्कुलमा पढाए स्वास्थ्य बीमा सित्तैमा

छोराछोरी सरकारी स्कुलमा पढाए स्वास्थ्य बीमा सित्तैमा

तनहुँको आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारका लागि निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम ल्याएको छ ।
 
गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ का सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएकाले विद्यार्थी र अभिभावकलाई सरकारी विद्यालयप्रति आकर्षित गराउन यस्तो कार्यकम ल्याएको उनको भनाई छ । 

अध्यक्ष चुमानले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न पनि यो कार्यक्रमले सहयोग गर्ने विश्वास राखेको बताए । उनले भने, ‘यसअघि गाउँपालिकाले सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिदैँ आएको थियो । अब सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा प्रदान गर्न लागेको हो ।’

‘पहिलो चरणमा हामीले दुर्गम क्षेत्रका बासिन्दालाई प्राथमिकतामा राखेका छौँ,’ उनले थपे, ‘पालिकाभित्र ६ वटा वडा रहेकोमा वडानं. ४, ५ र ६ का सामुदायिक विद्यालयमा छोराछोरी पढाउने परिवारका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था मिलाएका हौँ ।’

अध्यक्ष चुमानका अनुसार स्वास्थ्य बीमा गर्दा प्रतिपरिवार तीन हजार पाँच सय शुल्क लाग्ने छ । साथै, स्वास्थ्य बीमा गरेपश्चात् नागरिकले एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचार सेवा लिन पाउनेछ ।दुर्गम र गरिब परिवारले स्वास्थ्य बीमा गरेपछि साथमा पैसा नहुँदा पनि सहजै उपचार पाउने विश्वास गरिएको उनले बताए ।

टिप्पणीहरू