घुस्याहा हाकिमलाई उन्मुक्ति दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा रिट

घुस्याहा हाकिमलाई उन्मुक्ति दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा रिट

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन अध्यागमन विभागका अधिकृत कमलप्रसाद पराजुलीविरुद्ध विशेष अदालतले गरेको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

विशेष अदालतले पराजुलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा १२ को कसूरमा दोषी ठहर गर्दै दुबै कसूरमा १० महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुने तथा अन्य आरोपमा दाबी नपुग्ने फैसला गरेको थियो । साथै, सो मुद्दामा मुछिएका अन्यले सफाई पाएका थिए । 

अख्तियारका प्रवक्ता भोला दाहालले विशेष अदालतबाट भएको उक्त फैसलाउपर आयोगलाई चित्त नबुझेकाले अस्ति सर्वोच्च अदालतमा पुनरावेदन गरिएको जानकारी दिए । पराजुलीले अध्यागमन विभागमा हुँदा घुस लिएको र गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । 

त्यस्तै, श्रम स्वीकृति नलिई दुबई, कतारलगायतका देशमा मानिसहरु पठाउने, ती देशमा ट्रान्जिट भई अन्य मुलुकमा जान प्रस्थान अनुमति दिने र अभिलेख मेटाउने गरेको उनीमाथि आरोप थियो । २०७६ साउन २१ गते पराजुलीलाई अख्तियारले पक्राउ गरेको थियो । 

उनीसहित मनहरी बराल, दिनेश केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, विजय सापकोटा, शैलेन्द्र ढकाल, वीरसिङ भण्डारी, पदमप्रसाद बजगाईं, जगदिशचन्द्र नेपाली तथा कम्प्युटर अपरेटरहरु रोशन गौतम र भोजप्रकाश न्यौपानेविरुद्ध पनि अख्तियारले २४ लाख ८० हजार रुपैयाँ बिगो दाबी गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

टिप्पणीहरू