सुवाष र माधवको रोचक त्यो संवाद

सुवाष र माधवको रोचक त्यो संवाद

सुवास नेम्वाङले सोध्नुभयो, ‘केही गर्न सकिन्छ कि कमरेड ?’ बेदुराम भुसालले भन्नुभयो, ‘केही गर्न सकिन्न अब !’ त्यसपछि सुवास फर्किनुभयो, माधवकुमार नेपालतिर । राष्ट्रपतिका लागि भोट माग्न एकीकृत समाजवादीको कार्यालयमा सुवास पुग्दाको संवाद हो यो । ‘रामचन्द्रजीलाई समर्थन गर्ने भनेर हस्ताक्षर गरेका छौँ, प्रस्तावक बसेका छौँ । त्यसैले अब पनि केही गर्न सकिन्छ कि भनेर तपाईंले सोधेको प्रश्न आफैँमा राजनीतिक भएन’, बेदुरामले थप्नुभयो ।

सुवाससँगै पुगेका अरु नेता एकीकृत समाजवादीका अध्यक्ष माधवसँग भन्दै थिए, ‘आखिर पार्टीलाई मिलाएर नलगी सुख छैन । कसरी मिल्ने ? के–के कुरामा मिल्ने ? यसबारे केपी कमरेड र तपाईंले जे भन्नुहुन्छ, हुने त्यही हो । अहिले सुवास कमरेडलाई राष्ट्रपति बनाउन सकियो भने त्यताबाट पनि केही न केही बल पुग्ला ।’ एकीकृत समाजवादीका एक उपमहासचिवले भने, ‘राष्ट्रपतिमा भोट हाल्ने र पार्टी मिलाउने कुरालाई एउटै प्याकेजमा डिल गर्नुहुँदैन । दुबै कुराका अलग–अलग प्राक्टिस (अभ्यास) हुन्छन्, चियामा चिनी पो मिल्छ, चुक त मिल्दैन नि ! त्यसैले यो चिया र चुकलाई एउटै नबनाऔँ ।’

त्यसपछि सुवास माधवतिर हेरेर मुस्कुराउनुभयो र सोध्नुभयो ‘कमरेड, के गरौँ त ?’ माधवले भन्नुभयो, ‘म रामचन्द्रजीको प्रस्तावक छु, प्रस्तावकले अन्त भोट हाल्न मिल्छ कि मिल्दैन ?’ सुवासले भन्नुभयो, ‘त्यसो भए हामी माधव कमरेडको माया र शुभकामना लिएर जान्छौँ !’ माधवले भन्नुभयो, ‘त्यसमा बाध्यता पनि थपिदिनुस् न !’ सबैजना गलल हाँसे, एमाले नेताहरु त्यहाँबाट निस्किए । अर्कातिर, राष्ट्रपति निर्वाचनमा जसरी भोट क्रस हुन्छ भन्ने एमालेको अनुमान थियो, त्यस्तो भइदिएन । अर्थात्, ‘डेडिकेटेड भोट’, जसलाई प्रतिवद्ध मतहरु भनिन्छ, त्यसमा क्रस हुँदैन भन्ने यसचोटि देखियो । राष्ट्रिय स्वतन्त्र पार्टीले आश्चर्यजनक रुपमा सत्ता गठबन्धनलाई समर्थन ग¥यो । यसबाट उसले सत्ताबाहिर हुने केही पनि काम गर्दैन भन्ने बुझिन्छ । त्यसो गर्नुको पछाडि सभापति रवि लामिछानेको राहदानीको मुद्दामा सौदाबाजी गरिएको प्रष्ट छ । 

एमालेले आफ्नोबाहेक तीन भोट थप पाएको छ । एउटा वामदेवको र उनले भनेको मान्ने राष्ट्रियसभाको कसैको हुनसक्छ भन्ने एमाले नेताहरुको अनुमान छ । एमालेको साढे १५ हजार र समाजवादीको करिब २७ सय मतभार छ । दुइटा जोड्दा १८ हजार चानचुन हुन आउँछ । जबकि कांग्रेसको मतभार १६ हजार मात्रै हो । अब संसदमा एमालेले एउटा स्वतन्त्रसहित एकीकृत समाजवादीसँग एकता गरेमा सीट संख्या ९० हुन्छ । उस्तै भवितव्य प¥यो भने ठूलो दल भएर एमाले संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार बनाउने हुनसक्छ । उता, निर्वाचन आयुक्त ईश्वरी पौडेल कार्यकाल समाप्त गरी ५ गतेदेखि घर गए । त्यसअघि संवैधानिक अंगका रुपमा रहेको प्राकृतिक स्रोत तथा वित्त आयोग पहिल्यैदेखि खालि थियो ।
 

टिप्पणीहरू