माओवादी नेताको शीरमा हात राखेर ओलीको आशिर्वाद,'छोरी,राम्रो गर्नु !'

माओवादी नेताको शीरमा हात राखेर ओलीको आशिर्वाद,'छोरी,राम्रो गर्नु !'

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको सत्ता सहकार्य छोडेर काँग्रेससहितको पुरानो गठबन्धन ब्युँताएपछि यी दुई कम्युनिष्ट पार्टीबीच अहिले 'हार्दिकतापूर्ण' सम्बन्ध छैन । एमालेका नेता-कार्यकर्ता माओवादी र प्रचण्डलाई धोकेवाजको आरोप लगाइरहेका छन् । माओवादीहरुले भने एमाले राष्ट्रिय सहमतिको पक्षमा उभिन तयार नभएपछि सहकार्य तोडिएकाले त्यसको जिम्मेवार त्यही पार्टी हुने दावी गरिरहेका छन् ।

नेतादेखि कार्यकर्ता तहसम्म आरोप-प्रत्यारोप चलिरहेका बेला माओवादी केन्द्रका एकजना नेताले भने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुटुक्क भेटेर आशिर्वाद थापेको तथ्य सार्वजनिक भएको छ । पूर्वसांसद समेत रहेकी माओवादी नेता दिलकुमारी साहले अस्ति आइतबार बालकोट पुगेर ओलीलाई भेटेकी हुन् । भेटका क्रममा ओलीले उनको शीरमा हात राखेर आशिर्वाद दिइरहेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

दिलकुमारी माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरत साहकी पत्नी हुन् । कार्यकर्ता तहमा समेत दुई पार्टीबीच 'काटाकाट' को अवस्था रहेका बेला उनी बालकोटमा प्रकट भएपछि त्यसले चर्चा पाउने नै भयो । एमाले अध्यक्षले जनयुध्दलाई हिंसात्मक आन्दोलनको संज्ञा दिएको केही दिनमै भएको भेटघाटलाई मधेसका माओवादी नेता-कार्यकर्ताले निको मानेका छैनन् । 

तर,दिलकुमारीले आफ्नो भेटघाट व्यक्तिगत हो भनेकी छन् । व्यक्तिगत भेटका लागि ओलीकहाँ गएको बताएकी उनले भनिन्, 'व्यक्तिगत भेटघाट हो,राजनीतिक प्रचार गर्नु आवश्यक छैन ।' भेटका क्रममा ओलीले आफूलाई 'छोरी' भनेर टाउकोमा हात राखी 'राम्रो गर्नु' भन्दै आशिर्वाद दिएको र त्यही फोटो बाहिर आएको उनले बताइन् । 

साहका अनुसार मधेसमा प्रभु साहको दबदबा रोक्न सहयोगको याचना गर्दै उनी बालकोटको दैलोमा पुगेकी हुन् । भनिन्,'प्रभु साहले मधेस विरोधी काम गरिरहेको छ, त्यसविरुध्द लड्न नेताहरुलाई भेट्ने क्रममा उहाँलाई पनि भेटेको हुँ, अस्ति माधव कमरेडलाई पनि भेटेकी थिएँ ।' 

तर,सार्वजनिक फोटो अलि अस्वाभाविक देखियो नि त भन्ने प्रश्नमा उनले बाबुसरहको व्यक्तिले दिएको आशिर्वाद अस्विकार गर्न नचाहेको उल्लेख गर्दै भनिन्' 'प्रभुका मान्छेले नकारात्मक टिकाटिप्पणी गरेका छन्,तर मलाई केही फरक पर्दैन ।'

 

टिप्पणीहरू