रास्ट्रपति चुनावको मौका छोपेर प्रहरीको गुपचुप सरुवा

रास्ट्रपति चुनावको मौका छोपेर प्रहरीको गुपचुप सरुवा

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागू भएको मौका छोपेर नेपाल प्रहरीले गुपचूप केही इन्स्पेक्टरको काज सरुवा गरेको छ । आचारसंहिताको कारण फागुन १८ गतेदेखि सरुवा बढुवा रोकिएको बताइएको थियो । तर दुई दिनअघि फागुन १६ गतेको मितिमा इन्स्पेक्टरहरुको काज सरुवाको पत्र बनाएर डिस्प्याच गरिएको तथ्य खुलेको छ । 

फागुन १६ गते गरिएको काज सरुवाको पत्र १० दिनपछि हिजो मात्रै सार्वजनिक गरिनुले पनि गडबडीको आशंकालाई बल मिलेको छ

यता काजको लिष्ट हिजो सार्वजनिक भए पनि सरुवा भएका भनिएका इन्स्पेक्टरहरु भने तोकिएको इकाइ र कार्यालयमा हाजिर भइसकेका छन् ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार हालको नियमानुसार महानिरीक्षक धिरजप्रताप सिंहसहितको एउटा टोली आगामी चैत ११ गते विद्यमान ३० वर्षे सेवा अवधिका कारण घर जाँदैछ । सरुवा भएर जान लागेका हाकिमहरुको स्वार्थमा गुपचुप इन्स्पेक्टरको सरुवा गरिएपछि जिम्मेवारीको पर्खाइमा रहेका उच्च तहका हाकिमहरु नै रुष्ट भएको स्रोतको दाबी छ ।

गत वर्ष चैतमा सरुवा भएका इन्स्पेक्टरहरु सामान्यतया: आगामी चैत लागेपछि मात्रै हुने नयाँ दरबन्दीको निम्ति दौडधुप गर्ने मनस्थितिमा रहेकै बखत भएको ७० जनाको सरुवाले प्रहरी संगठन तरंगित भएको बताइन्छ । उच्च तहका हाकिमहरुको स्वार्थ बाझिँदा एकथरीले आकर्षक ठाउँको जिम्मेवारी पाएका छन् भने अर्काथरी हेरेको हेर्यै भएका छन् ।
 

पूर्व डिआईजी हेमन्त मल्लले नियमित सरुवाअघि नै मुख्य दरबन्दीलाई काजमार्फत पूर्ति गरिनुलाई चरम विसंगतिको संज्ञा दिएका छन् । ‘अति जरुरी वा विशेष अवस्थामा बाहेक  काज सरुवा गर्नुहुँदैन’, उनले भने, ‘त्यति धेरै इन्स्पेक्टरहरु नियमित सरुवाको पर्खाइमा रहँदा चलाइएको काजको आतंक आफैँमा राम्रो होइन ।’

प्राप्त विवरणअनुसार फागुन महिनाभित्र प्रहरीले विभिन्न मितिमा ७० जना इन्स्पेक्टरको काज सरुवा गरिसकेको छ । ती सरुवाको पत्रमा मिति सामान्यतयाः एउटै राखिए पनि चलानी र पत्र नम्बर फरक छ । स्रोत भन्छ, ‘ब्याक डेटमा २१ वटा सरुवा १० वटा पत्रको आधारमा गरिएको छ ।’

हालै गरिएको सरुवा अधिकांश आकर्षक युनिटमा भएको पाइन्छ । एकतर्फी काज सरुवाले ती ठाउँ भरिँदा संगठनभित्रै मारामार शुरु हुने गर्दछ । यता,गुपचुप दरबन्दी हाजिर भएका इन्स्पेक्टरहरु भने काज बदर हुने त्रासमा देखिन्छन् । जबकि इन्स्पेक्टरहरुको नियमित सरुवा हुनुपर्ने हरेक वर्षको चैतमा हो ।

टिप्पणीहरू