सिंगापुरका स्वकीयबाट सिकौं न मान्यज्यूहरू !

सिंगापुरका स्वकीयबाट सिकौं न मान्यज्यूहरू ! – विराट अनुपम

लि क्वान युको प्रसिद्ध पुस्तक छ– सिंगापुर स्टोरीः फ्रम थर्ड वल्ड टु फष्र्ट । सिंगापुर तेस्रोबाट पहिलो विश्वमा पुगेको सफलताको कथा हो यो । सन् १९९८ मा पहिलो संस्करण आएको पुस्तकमा धेरै खँदिला खुराक छन् । सिंगापुर कसरी गरिब मुलुकबाट भव्य सफल मुलुक भयो ? यसका उत्तर छन् । सिंगापुर जापान, बेलायती उपनिवेश हुँदै मलेसियाको अंग हुञ्जेलदेखि स्वतन्त्र मुलुक भएको सबै अनुभव लि क्वान युले लिएका थिए । सबैभन्दा रोचक कुरा उनीजस्ता सफल नेता, नियमित पाठकदेखि विश्वस्तरीय विज्ञको पुस्तक तयारीमा उनको सचिवालयका साथीहरूले सहयोग गरेको उल्लेख छ । पुस्तक सम्पादनमा एक तहको काम स्वकीय सचिवहरूले गरेका छन् ।

नेताहरूको फोन उठाउने, समयतालिका व्यवस्थापन गर्ने र एसम्यान प्रकृतिका अनुहार नभएर विषयगत क्षेत्रका जानकारहरू सचिवालयमा हुनुपर्ने लि क्वान युुको अनुभवबाट सिक्न सकिन्छ । नेता सफल हुन जनमतले मात्रै काम गरेको हुन्न । सहयोगी टोलीको झन् ठूलो भूमिका हुन्छ । सफल नेता बन्न विज्ञहरूले भरिएको सचिवालय चाहिन्छ । नेपालमा लि क्वान युको जस्तो गम्भीर र विज्ञ सचिवालयको कल्पना गर्ने समय आएकै छैन । आएको भए अहिलेसम्म विभिन्न पुस्तक लेख्ने नेताहरूले भन्ने थिए– यो पुस्तक तयार गर्न मेरा स्वकीयले धेरै दुःख झेलेका छन् । उनीकहाँ जस्तै आएको भए अहिलेसम्म विश्व मञ्चमा राम्रो भाषण गर्ने नेताहरूले भन्ने थिए– यो भाषणको मस्यौदा मेरा स्वकीय सचिवले तयार गरेका हुन् ।

नेपालका नेताहरूमा विज्ञ सल्लाहकार नियुक्तिको कर्मकाण्डी चलनचाहिँ छ । तर, स्वकीय सचिव नै विज्ञस्तरको राख्ने अभ्यास अहिलेसम्म भएकै छैन । अर्को तरिकाले भन्दा, सत्ताधारीको स्वकीय हुनेहरू विज्ञ हुँदैनन् । विज्ञ हुनेहरू स्वकीय हुँदैनन् । यसमा अहिले नयाँपन थपिएको छ । नयाँपन भन्दा पनि सनातनी परम्परामा नयाँ उदाहरण मिसिएका छन् । 

इमानदारीको सार्वजनिक उपमा पाएका केही नेताले स्वकीयमा आफन्त र भाइभारदारलाई नियुक्त गरेका छन् । स्थानीय, प्रदेशदेखि संघको सबै तहमा सत्ताधारीले यस्तो काम गरेका छन् । पाल्पाबाट जितेका एमालेका युवा सांसद ठाकुर गैरेले संसदको पहिलो प्रवेशमै कुख्यात चलन पालन गरेका छन्– आफ्नो स्वकीयमा भतिजा चन्द्रमणि गैरेलाई नियुक्त गरेर । नेकपा एसबाट राम्रो छवि बनाएका नेता तथा सल्यानका सांसद प्रकाश ज्वालाले भतिजा सन्तोष बीसीलाई स्वकीय बनाएका छन् । माओवादीका प्रभावशाली नेता देवेन्द्र पौडेलले पनि भतिजा राजनलाई स्वकीय राखे । शेरबहादुर देउवाका भतिजा भानु देउवा पनि स्वकीय हुन् । यस्ता उदाहरण तीन तहका सरकारसँग जोडिएका मेयरदेखि माननीयसम्म देखिन्छ । 

नेताहरूले आफन्त नियुक्त गरेर स्वकीयलाई जागिरजस्तो बनाएका छन् । स्वकीय जागिर नभएर एक सांसदलाई आफ्नो संसदीय अभ्यासमा सहयोग हुने विषयगत जानकारको नियुक्ति हुनुपर्ने हो । तर, यसो नगरेर सजिलो पाँच वर्षको करार सरकारी जागिरमा स्वकीय नियुक्त गरिएको छ । यस्तो नियुक्तिका देखिने तीन पाटा छन् । एक, नेताहरूलाई अरुको मतलब छैन । उनीहरूले पहिलो प्राथमिकता आफन्त र भाइभारदारलाई दिन्छन् । परिवारवादी छन् । परिवार उनीहरूको प्रथम प्राथमिकता हो । दुई, नेताहरूले आफ्ना कार्यकर्तालाई प्रयोग मात्रै गर्छन् । अवसर दिँदैनन् ।

तीन, नेपालका सांसदहरू जुनसुकै दल, उमेर समूह वा आस्थाको भए पनि उनीहरूमा आफन्तको भरणपोषणका निम्ति अभूतपूर्व एकता छ । नेपालमा सांसदहरूको स्वकीय पद कुनै गम्भीर र आवश्यक पद होइन । हुन्थ्यो भने विषयगत जानकारहरू त्यहाँ नियुक्त गरिन्थे । नियुक्तिको कुनै न कुनै मापदण्ड बनाइन्थ्यो । देशलाई आवश्यक नै नभएको स्वकीय सचिव राखेर राज्यभार बढाउने काम गरेको यो अभ्यासले देखिन्छ । बहुसंख्यक सांसदका स्वकीयहरूले विभिन्न अन्य पेशा वा अध्ययनमा हुँदाहुँदै तलब थाप्दै आएका छन् । संसद भवनमा एकदिन अनुहार नदेखाई वा संसदीय अभ्याससँग वा चुनाव क्षेत्रसँग एक दिन कुनै प्रत्यक्ष फिल्ड भ्रमण नगरी पनि स्वकीय भएकाहरू देखिन्छन् । 

राजतन्त्रवादीले जहानियाँ गणतन्त्र भनेर आलोचना गर्दै आउँदा सांसदहरूले त्यही आलोचनालाई बल पुग्ने अरु उदाहरण थपेका छन् । यसको प्रत्यक्ष असर लोकतन्त्रसँगको जनविश्वासमा जोडिन्छ । नेताहरूले आसेपासेलाई स्वकीय बनाएकैमा मान्छेहरू आक्रोशित छन् । झन् परिवारकै सदस्य तथा आफन्तलाई बनाउन थालेपछि यसले झनै आक्रोशको आगोमा मट्टीतेल थप्ने काम गरेको छ । लोकतन्त्र, गणतन्त्रदेखि संसदीय परम्परामा विश्वासको वातावरण बनाउन यस खालका गतिविधिमाथि निषेध आवश्यक छ । सरकारले नबनाए पनि दलहरूले आ–आफ्नो दलमा नियम बनाएर यस्ता खराब अभ्यासलाई निषेध गर्न जरुरी छ । कुन तहको सांसदको स्वकीय कुन दक्षता र क्षमताको हुनुपर्ने र के–के हुँदा हुन नपाउनेजस्ता न्यूनतम मापदण्ड बनाउने खाँचो छ । 

नेपालमा अहिले नै लि क्वान युले बनाएका जस्ता विज्ञ स्वकीयहरू भेट्न त असम्भव नै छ । तर, कम्तीमा आफन्त भर्ती केन्द्र र जहानियाँ गणतन्त्रजस्तो नबनाए मात्रै पनि तत्काललाई पुग्ने देखिन्छ । यसतर्फ सबै दल र सांसदले सोच्न जरुरी छ । सांसदहरूमा पनि ठाकुर गैरे, प्रकाश ज्वाला र देवेन्द्र पौडेलजस्ता आशा बोकेका युवा नेताहरूले झन् बढी सोच्न जरुरी छ । 

 

टिप्पणीहरू