राष्ट्रपति छानिएपछि राजनीतिले स्थिरताको कोर्स समात्ने दाबी

राष्ट्रपति छानिएपछि राजनीतिले स्थिरताको कोर्स समात्ने दाबी

पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति निर्वाचनपछि राष्ट्रिय राजनीतिले नयाँ कोर्स लिने बताएकी छन् । अहिले देखिएको राजनीतिक अस्थिरता भोलिको चुनावपछि स्थितरतातर्फ जाने उनको दाबी छ । 

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको १३३ औं अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले नयाँ राष्ट्र प्रमुखलाई स्वागत गर्दैगर्दा राजनीतिमा स्थायित्व प्राप्त हुने बताएकी हुन् । ‘राष्ट्रपतिको निर्वाचन पछाडि नेपाली राजनीतिमा स्थिरतातर्फको एउटा नयाँ कोर्स सुरु हुन्छ’, उनले दाबीका साथ भनिन् ।

‘निर्वाचनमा राष्ट्र प्रमुखको लागि हाम्रो पार्टीले निर्णय गरिसकेको छ’, पूर्वशहरी विकासमन्त्री रहेकी झाँक्रीले भनिन्, ‘त्यसपछि बन्ने राष्ट्र प्रमुखलाई स्वागत गर्दैगर्दा अब राष्ट्रिय राजनीतिमा नयाँ कोर्स अगाडि जानेछ, स्थायित्व प्राप्त गर्नेछ ।’

झाँक्रीले दुई वा दुईभन्दा धेरै दल मिलेर सरकार बनाउने सन्दर्भमा गरिएका कतिपय अभ्यास नैतिकताको कसीमा ठीक नभएको पनि बताएकी छन् । कतिपय अवस्थामा वाध्यत्मक भए पनि सत्ताका लागि ‘जहाँ जे पायक पर्छ, त्यही गरिरहने’ प्रवृत्ति राम्रो नहुने उनको भनाई छ । 

‘हामीले यस्तो निर्वाचन प्रणाली अलवम्बन गर्यौं । एउटै दलले एकै पटकमा बहुमत प्राप्त गर्दैन । दुई वा दुईभन्दा धेरै दलहरु मिलेर सरकार बन्ने सन्दर्भमा कहिलेकाँही गरिएको असल अभ्यासहरु यसो हेर्दाखेरी नैतिकताको कसीमा ठीक पनि लाग्दैन । तर कतिपय अवस्थामा वाध्यात्मक पनि हुनसक्छन्’, झाँक्रीले भनिन्, ‘तर केही न केही कोलिसन सरकारको मानकहरु, गठबन्धन सरकार कसरी चलाउने भन्ने केही स्टाण्डर्ड मानकहरु बनाउनुपर्छ । जहाँ जे पायक पर्छ त्यही नै कुरा गरिरहने कुरा त्यत्ति राम्रो हुँदैन । किनभने उच्च नैतिकता र संस्कार राजनीतिले माथिबाटै फलो गर्नुपर्छ ।’ 

कार्यक्रमलाई कांग्रेस नेतृ लक्ष्मी खतिवडा, प्रेरक वक्ता सुमी मानव, मेयर विमला राई, उपमेयर रमेश राउतले सम्बोधन गरेका थिए ।

टिप्पणीहरू