जब पातकीको फन्दामा परियो

जब पातकीको फन्दामा परियो

तंग्रदै थिएँ, एउटा व्यथाबाट फेरि आइलाग्यो अर्काे बज्रपात । यस्ता बज्रहरू मान्छेलाई नै पर्ने हो । ढुंगालाई त किन पथ्र्याे र दुःख–कष्ट ? जीवनमा एक, दुई होइन । लेख्ने हो भने दर्जनौं काव्य सिर्जना हुन्थे होलान् यदि वेदनाको पोको फुकाउने हो भने । भन्छन् नि मनको वह कसैलाई नकह । व्यथा, कष्टहरू मनमै लुकाएर राखेँ र प्रयासहरू गरिरहेँ कृत्रिम हाँसो हाँस्न । पीडा र वेदनाको अजंगको पहाडले किचिएर र थिचिएर थेप्चिएको मलाई स्वार्थको अगुल्टो झोसेर खाक बनाउन चाहनेहरूको चंगुलबाट कहिल्यै उम्कन सकिनँ । जीवन झिरमा उनिएको माछोझैँ भयो । तावाबाट उम्किएको माछा भुंग्रोमा परेझैँ भइरह्यो । 

पुरुषबाटै पाएको धोखाधडीका कारण मनको एउटा कुनामा लाग्थ्यो, यो पुरुष भन्ने जातको मुखै नहेरुँ, पाइलै नहेरुँ । फेरि अर्र्काे मनले भन्थ्यो एउटा कुहिएको फेला प¥यो भन्दैमा सबैलाई उही आँखाबाट हेर्दिनँ, हेर्नुहुन्न । सबै पुरुष एकैनाशका पनि त नहोलान् । तर, जब जो जसको संगतमा पुगेँ अहँ पुरुष कोही पाइएनन् फरक । तौल, रूपमा फरक होलान् बानी व्यहोरा सबै उस्तै । १७ वर्षमा पाइला टेक्दै गर्दा नेपाली सेनाको लाहुरेसँग विवाह भयो । एक्लो केटो, खानदानी र असल छ भनेर अनेक तनाबाना बुनेर इच्छा नहुँदा नहुँदै बाबाको वचन हार्न नसकी विवाह भयो । स्याङ्जा आरुखर्कका नेपाली सेनाको गोरखदल गुल्ममा कार्यरत रोशन बर्देवासँग । तिनताक पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा आइएड पढ्दै थिए । विवाहअघि सर्त थियो, विवाहपछाडि पढाउने । पोखरामा खाइहुर्केको । अर्थात् म त सुनमा जन्मेर, हीरामा हुर्किएको थिएँ । बाल्यकालमा दुःखको खासै अनुभूति पनि थिएन । बाल्यकालमा खासै दुःखको अनुभूति नगरेको मलाई स्याङ्जाको गाउँले परिवेशभन्दा पनि बर्देवा परिवारको रुढीबादी संस्कारसँग घुलमिल हुन त्यत्ति सहज थिएन । तैपनि रमाउँदै थिएँ । दिन कट्दै थिए । जागिरको सिलसिलामा रोशनको सरुवा भयो लमजुङमा । पढाइलाई निरन्तरता दिन समस्या हुन थाल्यो । विवाह भएको महिना दिन नपुग्दै उनले अनेकन नाममा निहुँ खोज्न थाले । झगडाको विषय थियो दाइजो । उसको चाहना रहेछ, दाइजोमा पल्सरबाइक । साधारण तरिकाले विवाह भयो । दाइजोमा हामीले पल्सर बाइक नै दिनु नभए पनि आफ्नो क्षमताले भ्याएसम्मका दाइजो दिनुभएकै थियो । 

भन्छन् नि कलह र आगोको बिउ सानो हुन्छ । लमजुङ सरुवा भएर गएदेखि रोशन मसँग हरेक दिन अनेक बहानामा निहुँ खोज्न थाल्यो । कहिले दाइजोको कुरा त कहिले भन्थ्यो म पढेलेखेको, तँ कम पढेको । पछि थाहा लाग्यो उसको उठबस र संगत त अर्कै महिलासँग रहेछ । श्रीमान् विदेशतिर भएकी एक जना गुरुङ्सेनीसँग दिल साटिएको रहेछ उसको । सेनालाई ब्यारेकमै बस्ने व्यवस्था हुँदाहुँदै ऊ छुट्टै डेरा लिएर बसेको थियो । एक पटक फोन गर्दा महिलाले फोन उठाइन् । मैले सोधेँ तिमी को हौ ? उसले रोशनको श्रीमती भएको जवाफ दिइन् । खसखस लाग्यो र फेरि सोधेँ कति भयो र विवाह भएको ? जवाफ आयो तीन वर्ष । आफ्नै लोग्नेको मोबाइलबाट अर्की स्त्रीले सिधै म उसकी श्रीमती हो भन्दा मेरो मनमा चलेको हावा, हुण्डरी अहिले यहाँ शब्दमा लेख्न सक्दिनँ । म छाँगाबाट खसेजस्तो भएँ । यता हाम्रो विवाह भएको तीन महिना पनि पुगेको छैन । सम्बन्ध भत्काएर हिँडौँ बुवा–आमाको इज्जतको सवाल छ । सम्बन्ध जोगाऊँ, आफैं जलेर, पीडाका तलाउमा छट्पटिएर यो सम्बन्धलाई म कहाँसम्म अगाडि लैजान सक्थें र ? समाज र बुवाको इज्जत जोगाउनका लागि पीडालाई शिरमा राखेर सहेर बसिरहेकै थिएँ । एक दिन म्यासेन्जरमा रोशन र ती गुरुङ्सेनीले बिहे गरेको फोटो आयो । मैले कैयौं पटक फोन गरेँ, म्यासेज गरेँ तर जवाफ आएन । रातभर एक पल पनि आँखा झिमिक्क नगरी उज्यालो भयो । आँखा ओभानो थिएनन् । रुँदारुँदै आँसु पनि सकिएछ कि ! घरको धन्दा सकेर सासूआमालाई सबै कुरा भनेँ । उहाँले हल्का रूपमा लिँदै भन्नुभयो मर्दको १२ वटी हुन्छ भन्छन्, के भयो र ? सबैले आ–आफ्नो कर्मले खाने हो । छोराको व्यवहारले भन्दा सासूको अभिव्यक्तिले झन् ठूलो चोट थियो । यद्यपि, मैले जवाफ फर्काइनँ । आठ बजेपछि म माइतीघर पोखरातर्फ लागेँ । मनको व्यथा कोसँग बिसाउनु र ? बुवा–आमालाई तनाव नदिऊँ भनेको हो । सहनै सकिनँ र बुवा–ममीलाई आफ्नो व्यथा कहेँ । ममीले साह्रै पिर लिनुभयो । हुर्किएकी छोरी माइती बसेर चल्दैनथ्यो । भोलिपल्टै पोखराबाट बुबालाई लिएर लमजुङ पुगेँ ०६८ असोज २७ गते । उनलाई कैयौँपटक कल गरेँ, रिसिभ गरेन । बुवाको मोबाइलबाट फोन गरेको, सायद नयाँ नम्बर भएर होला चार घण्टीमै फोन उठाए । हामी ब्यारेकको गेटमा थियाैँ । मेरा त वास्ता भएन रे लौ, उसकै पिता समानका बुवा हुनुहुन्थ्यो । बल्ल–बल्ल भेट्न गएको मान्छे गेटमै छाडेर यतै बस्दै गर्नु ड्युटी सकेर आउँछु भनेर फर्किए । 

६ बजे ड्युटी सकेर आउँछु भनेको मान्छे ८ बजेसम्म पनि आएनन् । पछि त मोबाइलै अफ गरेर बसेछ । नचिनेको, नजानेको ठाउँ, कहाँ जाने ? अफिसबाटै कुन बाटो, कताबाट निस्केर गयो । पत्तै भएन । सम्पर्क नभएसी बेसिशहरको टुकुचे होटलमा गएर बस्यौँ । गुरुङ्सेनी लिएर त्यही रात चितवन भागेको उसलाई केटीका आफन्तले हप्तादिनमै फेला पारेर मरणासन्न हुने गरी कुटपिट गरेछन् । केटीलाई माइतीले लिएर गएछन् । केही दिनपछि रोशन सैनिक हिरासतमा भएको खबर आयो । उसको ज्यादतीका कारण जिल्ला अदालत स्याङ्जामा सम्बन्धविच्छेदको मुद्दा हाले । सम्बन्धविच्छेद गरेँ र केही सम्पत्ति नलिइकन सम्बन्धविच्छेद पछि कानुनी रूपमा अलग–अलग भयौँ । र, ०७० सालमा नेपाल प्रहरीमा भर्ना भएँ । बुटवलमा तालिम चल्दै थियो । मेरो निकै नजिक भए एक जना गुरुबा । एउटा पीडाले छटपटिरहेको मेरो आलो घाउमा मलमपट्टी गर्ने प्रयास गर्दै नजिकिए उनी । गुरुबाटै आयो विवाहको प्रस्ताव । स्वीकार गरिनँ । उनको प्रस्तावलाई इन्कार गरेसँगै तालिममा निकै सास्ती व्यहोर्नुपर्ने अवस्था आयो । म बाध्यतामा परेँ । कञ्चपुरका उनले मलाई विवाह गर्न बाध्य पारे । तालिम सकिएलगत्तै जिल्ला प्रहरी कार्यालय गोर्खामा मेरो पोस्टिङ भयो । विवाहअगाडि उनले आफू कुमार भएको बताएका थिए । लोग्नेमान्छे सबै धोखेबाज हुन्छन् जस्तो नि लागेको थिएन । म गोर्खा उनी बुटवल । फोन सम्पर्क भइरहेको थियो । एक्कासि सम्पर्क टुट्यो । अरूसँग बुझ्दा घरमा गएको खबर पाएँ । उसले मलाई केही भनेको थिएन । गर्भवती पनि थिएँ, उसको माया र आश्वासनको आवश्यकताको बेला एकाएक सम्पर्कविहीन भएको अवस्था थियो । यही बीचमा छाँगाबाट खस्ने अर्काे पाएँ उसको पहिलो श्रीमतीबाटै दुई सन्तान भएको । तावाबाट उम्किएको माछा भुंग्रोमा भनेझैँ नियति भयो मेरो । बल्ल–तल्ल सम्हालिने प्रयास गर्दै थिएँ । फेरि अर्काे नर्कमा जाकिएँ । दिमागले केही सोच्नै सकेन । आत्महत्याको प्रयास गरेँ तर सफल भइनँ । मेरो सहपाठी नारायणी नेउपानेले मलाई मर्न दिइन । 

साहस बटुलेर बच्चा जसरी नि जन्माउनुपर्छ भन्ने लाग्यो । मेरो बुबाआमा यो विषयमा बेखबर हुनुहुन्थ्यो । जब म १५ दिने छुट्टी लिएर घर गएँ सबै कुरा स्पष्ट राखेँ । आमाबाबा दुःखी नहुने कुरै थिएन तर मैले दुःखी नहुन भनेँ । पहिला मलाई सम्झाउने आमाबुबालाई मैले नै सम्झाएँ । स्वस्थानीको कथा सम्झिएँ । सात वर्षकी गोमालाई ७० वर्षका शिव भट्टले बिहे गरेर दुःख पाएको सम्झिएँ । म अहिले बिनाबाउको सन्तानको आमा भएको छु । सात वर्षको बच्चाले मेरो बुवा खोइ त भनेर सोध्दा म नाजवाफ हुन्छु । तिम्रो बुवा छैनन् भनेर कसरी भनौँ । छ भनौँ कसलाई देखाऊँ ? किन यस्ता पातकी हुन्छन् मान्छेहरू । त्यो पातकी अहिले वरिष्ठ हवल्दारको रूपमा कार्यरत छ पोखरामा । मभन्दा सिनियर हो ऊ, तर मैले उसको मुखैमा थुकेर हिँडेको छु । म प्रदेश प्रहरी कार्यालयमा कार्यरत छु । राष्ट्रसेवक भनिने यस्ता कपुत र पातकीहरूका कारण आज प्रहरी र नेपाली सेना बदनाम हुन पुगेको छ । यस्ता कपुतका कारण कैयौं इमान्दार लोग्नेमान्छेप्रति घृणा उत्पन्न भएको छ । 

– रेश्मा थापा 

 

टिप्पणीहरू