चितवनमा राष्ट्रिय परिचयपत्र वितरण सुरु, रविकै प्रसंग
आफ्नो राष्ट्रिय पहिचानलाई लत्याउने, राष्ट्रियतालाई नै कुल्चेर जो चोर उही ठूलो ठूलो स्वरमा कुर्लनेलाई नै जनताले नेता बनाएको यही देश, यही चितवन । पहिलो कुरो त राष्ट्रियता र राष्ट्रिय पहिचानप्रति त्यति नै प्रेम हुनेले आफ्नो देशको नागरिकता नै त्याग्ने थिएन ।
पत्रकारिता गर्दा पत्रकार परिचयपत्रको समेत अवज्ञा गर्ने, अग्रजको सुझावलाई समेत अटेरी गर्ने रवि लामिछाने अन्ततः आफैं भुइँमा पछारिए, किन चाउरिस् मरिच आफ्नै रागले भए । बकम्फुसेलाई बेकारमा भोट दिइएछ भनेर अहिले थकथकाइरहेका मतदाताहरुले फेरि हुने आमनिर्वाचनमा रविको रवाफलाई धुलोपीठो बनाइदिने चित्रण देखापर्दैछ । नागरिकता वा भनौं राष्ट्रिय पहिचान कति महत्वपूर्ण हुन्छ भन्ने कुरा त उनै ढोंगी गृहमन्त्रीबाट च्युत हुनुले पनि प्रस्टै बताउँछ ।
नेपाल सरकारले अहिले नागरिकतापछि राष्ट्रिय परिचयपत्रको पनि व्यवस्था गरेको छ । चितवनमा अस्तिबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु पनि भएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजित एक कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको हातबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको शुभारम्भ गरिएको थियो । अब प्रविधिसँगै अगाडि बढ्नुपर्ने भन्दै महानगर प्रमुख रेनु दाहालले भरतपुरवासीलाई महानगरपालिका कार्यालयमै इकाइ स्थापना गरी राष्ट्रिय परिचयपत्र वितरण गर्दा अझ सहज हुने विचार व्यक्त गरिन् । उनले भनिन्, ‘पञ्जीकरण शाखा पनि छ, जनशक्ति र स्रोत–साधनको पनि व्यवस्था मिलाऔंला ।’
चितवनमा यतिबेला १७ हजार थान राष्ट्रिय परिचयपत्र आएको बताइन्छ । अहिले ११ जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण थालनी भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले जानकारी दिए । १६ वर्ष पुगेर नागरिकता प्राप्त गरेका सबै नागरिकलाई अबको दुई वर्षभित्रै राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने लक्ष्य रहेको उनले बताए ।
कार्यक्रममा चितवन जिल्लाका प्रमुख सेनानी अच्युत घिमिरे, जिल्ला प्रहरी प्रमुख रामेश्वर कार्की, अनुसन्धान प्रमुख एसपी कमलप्रसाद भट्टराई, सशस्त्र प्रहरी प्रमुख शशी पाण्डे, विपद् व्यवस्थापन गण रसौलीका गणपति कुलचन्द्र श्रेष्ठ लगायत विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको पनि उपस्थिति रहेको थियो ।
टिप्पणीहरू