अवाञ्छित तत्वबाट जोगिन र सजग रहन प्रधानसेनापतिको आग्रह

अवाञ्छित तत्वबाट जोगिन र सजग रहन प्रधानसेनापतिको आग्रह

प्रधान सेनापति प्रभुराम शर्माले केही अवाञ्छित तत्वबाट हुने गरेका टीकाटिप्पणीप्रति सजग रहन निर्देशन दिनुभएको छ । उहाँले नेपाली सेनाको संवैधानिक जिम्मेवारी, भूमिका र योगदानलाई अवमूल्यन हुनेगरी हुने गरेका त्यस्ता टिप्पणीप्रति सजग रहन बताउनुभएको हो ।

बुटवलस्थित सेनाको मध्यपश्चिम पृतना हेडक्वाटरमा आयोजित भूतपूर्व सैनिक सम्मेलन तथा स्वास्थ्य शिविर कार्यक्रमको शुभारम्भ गर्दै उहाँले सेनाबारे  हुने गरेका कपोलकल्पित र झुठा टीकाटिप्पणीप्रति सचेत र सजग रहन सैन्य अधिकारीहरुलाई निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘हामी व्यावसायिक ढंगबाट काम गरिरहेका हुन्छौँ र सेनालाई स्खलित बनाउने विभिन्न किसिमका दिग्भ्रमित टीकाटिप्पणी सार्वजनिक गरेर बाटो बिराउन अनेकौं कोसिस गरिएको पाइएको छ । त्यस्ता प्रयासप्रति कसैले विश्वास नगर्नुहोला ।’ नेपाली सेना जंगी अड्डाको व्यवस्थापन तथा कल्याणकारी कोषको संयोजनमा आजदेखि उक्त सम्मेलन भएको हो ।

त्यसैगरी बलाध्यक्ष रथी सीताराम खड्काले कल्याणकारी कोषबाट सञ्चालित कार्यक्रमबाट लाभ लिन अवकाशप्राप्त सैनिक तथा आश्रित परिवारलाई अनुरोध गर्नुभएको छ । सेनाको कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तन्डुलले शिक्षा, स्वास्थ्य र सीपमूलक तालिमका लागि बोर्डले सहयोग प्रदान गर्दै आएको जानकारी दिनुभएको छ । उद्यमशील क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत  १५ लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइएको सेनाको भनाइ छ ।

सम्मेलनमा मध्यपश्चिम पृतनाअन्तर्गतका अर्घाखाँची, कपिलवस्तु, गुल्मी, पाल्पा, रुपन्देही नवलपरासी बर्दघाट सुस्ता पश्चिम र नवलपरासी बर्दघाट सुस्तापूर्वका चार हजार अवकाशप्राप्त भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका सदस्यहरु उपस्थित भएका हुन् । 

कल्याणकारी कोषमा ७३ अर्ब १३ करोड ३७ लाख रहेको बताइन्छ । हालसम्म १० लाखभन्दा बढी लाभान्वित भइसकेका छन् ।


 

टिप्पणीहरू