बाटो नभएको ठाउँमा पुल बनाउने कर्मचारीविरुद्ध मुद्दा, मन्त्रीलाई उन्मुक्ति

बाटो नभएको ठाउँमा पुल बनाउने कर्मचारीविरुद्ध मुद्दा, मन्त्रीलाई उन्मुक्ति

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाटाे नभएको ठाउँमा पुल बनाएर स्रोत दुरुपयोग गरेको आरोपमा तत्कालीन प्रदेश सचिवसहित तीनजनाविरुद्ध मुद्दा चलाएको छ । 

गण्डकी प्रदेश सरकारकाे भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टा, प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय, गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाविरुद्ध अन्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको बजेटबाट गोरखा नगरपालिका– ३ जरेबरस्थित दरौंदी नदीमाथि बाटो नभएको स्थानमा पुल राखेर उनीहरुले राज्यको स्रोत दुरुपयोग गरेको अदालतमा दायर आरोपपत्रमा उल्लेख छ । तत्कालीन सचिव मरहट्टाविरुद्ध पाँच करोड ४५ लाख बढी बिगो तोकिएको छ ।

यो प्रकरणमा तत्कालीन मन्त्री तथा एमाले नेता रामशरण बस्नेत भने चोखिएका छन् । उनलाई निर्णय प्रक्रियामा संलग्न नदेखिएको भन्दै अख्तियारले प्रतिवादी नबनाएको हो ।

गोरखा नगरपालिकाको नारेश्वर र सिरानचोक गाउँपालिकाको जरेबर जोड्न बनाइएको पुललाई मोटर बाटोले छोएको छैन । तर, त्यतिबेलाका मन्त्री बस्नेतले नै पुल निर्माण गर्न स्वीकृति दिएको धेरैको दाबी छ ।

टिप्पणीहरू