परीक्षाको मुखमा स्कुलमा ताल्चा लगाएर शिक्षकहरु भारत भ्रमणमा

परीक्षाको मुखमा स्कुलमा ताल्चा लगाएर शिक्षकहरु भारत भ्रमणमा

रुपन्देहीको कोटहीमाई गाउँपालिका-५ स्थित मर्चवार आदर्श माध्यमिक विद्यालयका शिक्षक र कर्मचारीको टोली पठनपाठन बन्द पारेर साताव्यापी भारत भ्रमणमा निस्केको छ । 

विद्यालय बन्द गरेर शिक्षक र कर्मचारीको टोली गत फागुन १२ गते भारत भ्रमणमा गएको हो । गाउँपालिकालाई जानकारी नगराईकन आन्तरिक समझदारीमा शिक्षकहरु उत्तराखण्ड पुगेपछि चर्को विरोध भइरहेको छ । 

वार्षिक परीक्षा नजिकिँदै गर्दा विद्यार्थीहरु थप मर्कामा परेका छन् । कक्षा १ देखि १२ सम्म पठनपाठन हुने विद्यालय पूर्णरुपमा ठप्प छ । विद्यालयले भ्रमणको विषयमा कुनै छलफल नै नगरेको गाउँपालिकाको शिक्षा अधिकृत अमृता बुढाथोकीको भनाइ छ । 

प्रधानाध्यापक धनञ्जयकुमार त्रिपाठीले गत फागुन १२ गते गाउँपालिकालाई फागुन १४ देखि १७ गतेसम्म विद्यालय बन्द रहने पत्र पठाएको उनी बताउँछिन् । उनका अनुसार गाउँपालिकाले विद्यालय बन्द गर्न नमिल्ने जानकारी गराउन खोज्दा शिक्षकहरु भारत गइसकेका थिए । 

‘प्रधानाध्यापक त्रिपाठीले फागुन १४ गतेदेखि शैक्षिक भ्रमणका लागि भारत जाने भनेर फागुन १२ गते पत्र पठाउनुभएको रहेछ । पत्रमा विद्यालय बन्द रहने व्यहोरा मात्र उल्लेख छ । गाउँपालिकासंग स्वीकृति नलिई विद्यार्थीको पढाइ अलपत्र पारेर घुम्न जान मिल्दैन् भन्नलाई त्यही दिन उहाँलाई फोन गर्यौं’, उनले भनिन्,‘उहाँहरु त्यही दिन भारत गइसक्नुभएको रहेछ । शिक्षकहरु आन्तरिक रुपमा कुरा मिलाएर भ्रमणमा जानुभएको भन्ने थाहा पाइयो ।’

विद्यालय खुलेपछि यसबारे प्रधानाध्यापकलाई स्पष्टीकरण सोधिने शिक्षा अधिकृत बुढाथोकीले बताइन् ।

टिप्पणीहरू