यातायात क्षेत्रको समस्या समाधानमा मजदुरहरुको आफ्नै तर्क

यातायात क्षेत्रको समस्या समाधानमा मजदुरहरुको आफ्नै तर्क

यातायात क्षेत्रमा देखिएको समस्याको समाधान यातायात मजदुरसम्बद्ध संघ र महासंघहरुले सरकारलाई सुझाएका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक तुलसी गौतमलाई बुझाइएको पत्रमा ती संघ संगठनले यातायात क्षेत्रका समस्या समाधानका उपायहरु उल्लेख गरेका छन् । 

उनीहरुले जफत गरिएका लाइसेन्स तत्काल सम्बन्धित चालकलाई बुझाउनुपर्ने र आगामी सोमबारभित्र लाइसेन्स फिर्ता दिइसक्नुपर्ने बताएका छन् । त्यस्तै, ट्राफिकले जारी गर्ने जरिवाना रसिदको स्वामित्व विभागले लिनुपर्नेमा उनीहरुको जोड छ । 

ट्राफिक संकेत वा इशारा उल्लंघन गरी सवारी चलाएमा, सवारी रोक्न निषेध गरेका ठाउँमा रोकेमा, प्रतिबन्ध लगाइएको स्थानमा सवारी मोडेमा वा ध्वनी संकेत दिएमा, सुरक्षा पेटी नबाँधी वा हेल्मेट नलगाई सवारी चलाएमा, सार्वजनिक सवारीको चालकले यात्रु बोक्न इन्कार गरेमा, चालक अनुमतिपत्र साथमा नराखी सवारी चलाएमा पाँच सय रुपैयाँ जरिवाना लिन मिल्ने उनीहरुको भनाइ छ । 

अवस्था ठीक नभएको सवारी चलाएमा, अरुलाई बाधा पुग्नेगरी सार्वजनिक स्थानमा सवारी रोकेमा, सडकमा इजाजत पत्र नलिई गाडी गुडाएमा एक हजार रुपैयाँ जरिवाना लिनुपर्ने भनिएको छ । 

यता, सरकारले तोकेकोभन्दा बढी भाडा उठाएमा, नम्बर प्लेट नराखी सवारी गुडाएमा, एकतर्फी सडकमा सो विपरीत सवारी चलाएमा, मादक पदार्थ सेवन गरी गाडी चलाएमा एक हजार पाँच सय रुपैयाँ मात्र जरिवाना लिनुपर्ने सुझाव उनीहरुले दिएका छन् । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात व्यवसायी मजदुर संघ, नेपाल राष्ट्रिय प्रगतिशील यातायात श्रमिक संगठन, एकीकृत यातायात मजदुर संगठन, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र स्वरोजगार यातायात मजदुर संगठनले संयुक्त रुपमा आफ्ना धारणाअनुकूलका सुझाव बुझाएका हुन् ।

टिप्पणीहरू