प्रधानमन्त्री प्रचण्डद्वारा क्रिकेट खेलाडीलाई नगद पुरस्कार घोषणा, अभिभावक पाएको भन्दै खेलाडीहरु खुशी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ । आज दिउँसो खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत घोषणा गर्नुभएको हो ।

त्यसक्रममा प्रधानमन्त्रीले भन्नुभयो, 'सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईहरूलाई बधाइ छ । तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ । चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ । यो देशकै गौरव हो ।'

खेलाडीहरुका कारण देशकै गौरव र प्रतिष्ठा बढेकोमा खुशी व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले थप सफलताको कामना पनि गर्नुभयो । 'तपाईहरूलाई फेरि पनि सफलता मिलोस् । आउने प्रतिस्पर्धाका लागि शुभकामना छ । तपाईहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गर्दछु', उहाँले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले आफूले सरकारमा रहँदा र नरहँदा पनि खेलकुदलाई उच्च प्राथमिकता दिने गरेको पनि बताउनुभयो । खेलकुद शारीरिक तन्दुरुस्तीका लागि मात्र नभएर देशको प्रतिष्ठा र कुटनीतिक सम्बन्ध बिस्तारमा पनि योगदान रहने भन्दै उहाँले त्यसकारण सरकारले उच्च महत्व दिने प्रतिवद्धता समेत जनाउनुभयो । 

'पहिला पहिला खेल जीवनका लागि, अनुशासनका लागि भनिन्थ्यो, अहिले त्यस्तो छैन” प्रधानमन्त्रीले भन्नुभयो, 'अब खेल देशका लागि भएको छ, अर्थतन्त्रको उत्थानका लागि भएको छ, राष्ट्रिय प्रतिष्ठाका लागि भएको छ, कुटनीतिक उचाइका लागि पनि भएको छ । तसर्थ, खेल क्षेत्रलाई सामान्य आँखा हेर्नु देशकै लागि गल्ती हुन जान्छ ।'

सो अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकोमा धन्यवाद दिँदै वास्तविक अभिभावक पाएको भनि खुसी व्यक्त गरेका थिए ।

नेपालले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदान भएको लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा ४ वटै खेल जितेर सिरिज क्लिन स्विप गरेको थियो । नेपाली क्रिकेट टोली फागुन १५ देखि २२ गतेसम्म युएईमा हुने लिग-२ कै अर्को सिरिजका लागि १३ फागुनमा त्यसतर्फ जाँदैछ ।

टिप्पणीहरू