कस्ता व्यक्ति राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न सक्छन् ?

कस्ता व्यक्ति राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न सक्छन् ?

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारको योग्यताबारे पनि जिज्ञासा उठ्न थालेको छ । कस्ता व्यक्ति उम्मेदवार हुन सक्छन् र कस्ता सक्दैनन् ? भन्ने सम्बन्धमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ मा स्पष्ट लेखिएको छ ।

सबैभन्दा पहिले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न सम्बन्धित व्यक्ति कम्तीमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्छ । त्यसैगरी त्यस्ता व्यक्ति कुनै पनि लाभको पदमा बहाल नरहेको हुनुपर्ने कानुनमा उल्लेख छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ११ मा कुनै पनि व्यक्ति उम्मेदवार हुनको लागि नेपाली नागरिक हुनैपर्ने र त्यो पनि वंशजका आधारमा नागरिकता लिएको नेपाली नागरिक हुनुपर्ने व्यवस्था छ । उम्मेदवार हुन चाहने व्यक्तिको नाम कुनै पनि पालिकाको अन्तिम मतदाता नामावलीमा समावेश हुनुपर्छ ।

कुनै पनि कानुनले अयोग्य नठहराएको व्यक्ति भएमा मात्र उसले राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्ने हैसियत राख्छ । ऐनमा भनिएको छ, ‘प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको, भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्म कैद वा २० वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको, संगठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, जातीय भेदभाव तथा छुवाछूत, बोक्साबोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्ति उम्मेदवार हुन पाउने छैन ।’

त्यसैगरी अन्य कसुरमा पाँच वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, प्रचलित कानुनबमोजिम कालोसूचीमा रहेकामा सो अवधिभर, कैदमा बसेकामा कैद बसेको अवधिभर, मानसिक सन्तुलन ठीक नभएको व्यक्तिलाई उम्मेदवार हुन अयोग्य मानिनेछ ।

टिप्पणीहरू