अमेरिकी राष्ट्रपति युद्धग्रस्त युक्रेनको राजधानी पुगेर फर्किए

अमेरिकी राष्ट्रपति युद्धग्रस्त युक्रेनको राजधानी पुगेर फर्किए

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले युक्रेनको राजधानी किभको गोप्य भ्रमण गरेका छन् । उनी पोल्याण्डबाट किभसम्म रेल यात्राबाट पुगेको बताइएको छ ।

युक्रेनलाई अमेरिकी समर्थन रहेको देखाउन उनले झण्डै १० घण्टा लामो रेल यात्रा गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । हवाई आक्रमणको आवाज आइरहेको बिहानको सूर्योदयको समयमा राष्ट्रपति बाइडेन त्यहाँ पुगेका हुन् । 

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँगको भेटमा अमेरिकी राष्ट्रपतिले सैन्य सहायतामा थप पाँच सय मिलियन डलर थप्ने वाचा गरेका छन् । यद्यपि, उनले युक्रेनले आग्रह गरिरहेको उन्नतखालका हतियार उपलब्ध गराउनेतर्फ भने कुनै चासो नदेखाएको बताइन्छ । 

बाइडेनले अघिल्लो महिना अमेरिका पुगेका जेलेन्स्कीलाई पत्रकार सम्मेलनमा भनेका थिए, ‘युक्रेन जहाँ खडा छ, लोकतन्त्र पनि खडा हुन्छ ।’ रुस र युक्रेनबीच युद्ध शुरु भएयता पहिलो पटक युक्रेन पुगेका अमेरिकी राष्ट्रपतिले किभमा ६ घण्टा बिताएको उल्लेख छ ।

अमेरिकी सञ्चारमाध्यमहरुले समेत उनको किभ भ्रमणको भेउ नै पाएका थिएनन् । तर किभ पुग्न केही घण्टाअघि बाइडेनले आफ्नो योजना रुसलाई जानकारी गराएको बताइन्छ । उनीसँग यात्रामा रहेका दुई अमेरिकी पत्रकारले समेत उक्त योजनालाई गोप्य राखेका थिए । 

बाइडेनले आज पोल्याण्डको राजधानी वार्सामा सम्बोधन गर्ने कार्यक्र छ भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

टिप्पणीहरू