अस्पताल बन्द गराएको विरोधमा डा.अरुणा उप्रेतीको राजीनामा

अस्पताल बन्द गराएको विरोधमा डा.अरुणा उप्रेतीको राजीनामा

पोषणविद डा. अरुणा उप्रेतीले चिकित्सक संघको सदस्यबाट राजीनामा दिएकी छन् । अस्पताल बन्द गराएर सर्वसाधारण बिरामीलाई दुःख दिएको र अविवेकी काम गरेको भन्दै उनले संघबाट राजीनामा दिने घोषणा गरेकी हुन् ।

राष्ट्रपतिको सवारीमा गत शुक्रबार एक जना चिकित्सकमाथि प्रहरीले लाठी प्रहार गरेपछि संघले हिजो सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्था बन्दको कार्यक्रम राखेको थियो । उक्त कार्यलाई डा. उप्रेतीले संघको अविवेकी काम भन्दै सामाजिक सञ्जालमा हिजो लेखेकी छन्, ‘अविवेकी काम गरेर कति बिरामीलाई मानसिक र शारीरिक सास्ती दिएको छ । गरीब बिरामीहरुले के गर्ने ? धनीहरु त निजीमा गए ।’

उनका अनुसार निजी अस्पताल कुनै बन्द भएनन् । राजनीतिक दल र तिनका नेताले नेपाल बन्द गर्दा बिरोध गर्नेहरुले सोही काम दोहोर्याउँदा अविवेकी भएको उनको ठहर छ । 
२०४६ सालको आन्दोलनमा चिकित्सकहरुले हातमा कालोपट्टी बाँधेर काम गरेकाले सामान्य बिरामीले दुःख नपाएको उनको अनुभव छ । त्यसैले यस्तो चिकित्सक संघको सदस्य रहन उचित नहुनाले आजबाट आफू संघको साधारण   सदस्य नरहेको सामाजिक सञ्जालमा उल्लेख छ ।

आज राजीनामाको निवेदन संघमा दर्ता गर्ने डा. उप्रेतीको भनाइ छ ।

टिप्पणीहरू