डाक्टर कुट्नेमाथि कारवाही गर्न सरकार तयार भएपछि चिकित्सकसंघको आन्दोलन फिर्ता

डाक्टर कुट्नेमाथि कारवाही गर्न सरकार तयार भएपछि चिकित्सकसंघको आन्दोलन फिर्ता

सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बिहानभर भएको वार्तामा सहमति जुटेपछि चिकित्सकको आन्दोलन रोकिएको हो ।

भीआइपी सुरक्षाका नाममा प्रहरीले चिकित्सक कुटेको विरोधमा नेपाल चिकित्सक संघ आन्दोलनमा उत्रिएको थियो । चिकित्सकहरुको आन्दोलनका कारण देशभरको स्वस्थ्य सेवा प्रभावित भएपछि सरकारले संघसँग वार्ता गरेको हो । आज बिहान ८ बजे देखि सरकारी वार्ता टोली र चिकित्सक संघका प्रतिनिधिबीच वार्ता भएको थियो । 

वार्तापछि प्रधानमन्त्री कार्यालयका सचिव एवं वार्ता टोलीका संयोजक डा. गणेशप्रसाद पाण्डेय र संघका अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेको सहमतिअनुसार संघले अगाडि सारेका सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्काल स्थगित गर्ने उल्लेख छ । त्यस्तै, सरकारले घाइते चिकित्सकको उपचार व्यवस्था मिलाउने, चिकित्सकमाथि कुटपिट गर्ने सुरक्षाकर्मीलाई निलम्बन गरी छानबिन सुरू गरिसकिएकाले एक साताभित्र दोषीलाई कारबाही गर्ने र 'विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि’ मा परिमार्जन गर्न एक साताभित्र सुझाव पेश गर्ने सहमति भएको छ । 

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संसदमा सम्बोधन गर्न जाँदा सडक खालि गर्नेक्रममा ट्रमा सेन्टरका एक बरिष्ठ सर्जन सुरक्षाकर्मीबाट कुटिएका थिए । बिरामीको शल्यक्रिया गरेर फर्किँदै गरेका डाक्टर कुटिएको विरोधमा संघले आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प पारेको छ ।

टिप्पणीहरू