सत्ता गठबन्धनलाई सुदूरबाट धक्का, काँग्रेसको भाग्य खुल्यो

सत्ता गठबन्धनलाई सुदूरबाट धक्का, काँग्रेसको भाग्य खुल्यो

सत्ता गठबन्धन टुटाउने रणनीतिका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली काँग्रेसले सरकारमा जबर्जस्त ‘इन्ट्री’ गरेको छ । नयाँ राष्ट्रपति चयनको विषयले सत्ता गठबन्धनमा खटपट बढेको भनिएका बेलामा सुदूरपश्चिमबाट काँग्रेस सत्तामा फर्किएको हो । 

नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावललाई गठबन्धनको एउटा घटक नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि उनी स्वतः पदमुक्त हुँदा काँग्रेसले सरकारको नेतृत्व प्राप्त गरेको छ । आज मुख्यमन्त्री रावलले विश्वासको मत लिने अन्तिम दिन प्रदेशसभा बैठकमा उन्मुक्तिका सांसदहरु उपस्थित नै भइदिएनन् । फलतः रावलले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव मतदान प्रक्रियामा प्रवेश नै नगरी महुमतले अस्वीकृत भयो ।

पुस २७ मा एमालेका १० माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ गरी २९ जना सांसदको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्री बनेका थिए । ५३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीलाई बहुमतसिद्ध गर्न २७ मत आवश्यक पर्नेमा सरकार गठन भएको एक महिनामै सत्ता घटक नागरिक उन्मुक्तिले साथ छाडेपछि गठबन्धन सरकार ढलेको छ । 

अब प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री चयन हुनेछन् । संविधानको धारा १६८ (२)  अनुसार रावल नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि अब संविधानको धारा १६८ (३) अनुसार शाहको नयाँ सरकार गठन हुने बाटो खुलेको छ । 

संविधानको धारा १६८ (३) मा ‘प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

सुदूरपश्चिममा एक महिनामै गठबन्धन सरकार ढलेपछि केन्द्रीय राजनीतिमा समेत त्यसको प्रभाव पर्ने आकलन गरिएको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति सरकारमा सहभागी भएको छैन । अर्कोतर्फ रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गृह मन्त्रालय नपाएपछि सरकार छाडेको छ । राष्ट्रपतिमा आफ्नो उम्मेदवार निर्वाचित गराउन माओवादीको समर्थन खोजिरहेको एमालेसमेत राष्ट्रपति निर्वाचनपछि गठबन्धनबाट बाहिरनसक्ने विश्लेषण भइरहेको छ ।

टिप्पणीहरू