एमाले कार्यकर्ता राष्ट्रपति भए कठपुतली हुन्छ, हराएरै छाड्छौँ : गगन थापा

एमाले कार्यकर्ता राष्ट्रपति भए कठपुतली हुन्छ, हराएरै छाड्छौँ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेले प्रस्ताव गर्ने राष्ट्रपतिको उम्मेदवारलाई हराउन आफ्नो पार्टीले प्रयास गर्ने बताएका छन् । आज काठमाडौँमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले एमालेले बनाएको राष्ट्रपति ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने भएकाले हराउनुपर्ने बताएका हुन् । 

‘अहिले नेकपा एमालेको नेतृत्वले कार्यकर्तालाई राष्ट्रपति बनायो भने त्यो राष्ट्रपति कस्तो राष्ट्रपति हुन्छ ?’, थापाले प्रश्न गरे, ‘त्यसलाई ‘सम्माननीय कठपुतली राष्ट्रपति’ भने हुन्छ । त्यसले के गर्छ ? अस्ति केही अभ्यास त भइसक्यो ।’

एमालेबाट निर्वाचित राष्ट्रपति भएमा उसले शीतल निवासबाट समानान्तर शक्तिको अभ्यास गर्ने उनको भनाई छ । ‘संविधानले दिँदै नदिएको शक्तिको अभ्यास गर्छ । त्यसले विस्तारै दुइटा केन्द्र हुन्छ । एउटा बालुवाटार हुन्छ । एउटा शीतल निवास हुन्छ । अनि बालुवाटारबाट कार्यकारी अधिकारको प्रयोग गर्ने ठाउँमा शीतल निवासले पनि कार्यकारी अधिकार प्रयोग गर्छ र त्यो एक ठाउँमा गएर ठोकिन्छ । त्यसले संविधानलाई दुर्घटनामा लिएर जान्छ’, महामन्त्री थापाले भने ।

उनले संविधान दुर्घटनामा पर्ने डरले कांग्रेसले राष्ट्रपतिमा आँखा लगाएको बताए । भने, ‘हामी नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौँ । हराएरै छाड्छौँ । कोसिस गर्छौँ । लाग्छौँ लाग्छौँ । स्वाभाविक हो नि त ! अस्वाविक हो र ? आँखा लगाउलास् भन्नुहुन्छ, आँखै लगाउँछौँ । भोट नै माग्छौँ । फकाउँछौँ । मिलाउने कोसिस गर्छौँ । त्यसलाई मत लिने कोसिस गर्छौँ । हामीले भनेको उम्मेदवारलाई राष्ट्रपति बनाउने कोसिस गर्छौँ ।’

थापाले राष्ट्रपति को हुने भन्दा पनि संविधानलाई दुर्घटनामा लिएर जाने कि नजाने भन्ने आफूहरुको मनमा डर पसेको बताए । राष्ट्रपति विद्या भण्डारीको नाम नलिई उनले भने, 'पहिलाको राष्ट्रपतिको भूमिकाको कारणले गर्दा डर लागेको छ । त्यसैले हामी त्यो डरबाट मुक्त हुन चाहन्छौँ ।'

टिप्पणीहरू