भारतीय बसको रिबन श्रीलंकाका राष्ट्रपतिले काटे

भारतीय बसको रिबन श्रीलंकाका राष्ट्रपतिले काटे

भारतले श्रीलंकालाई सहयोगस्वरुप उपलब्ध गराएको बस श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघेले बुझेका छन् । भारतले पाँच सय वटा बस सहयोग गर्ने क्रममा पछिल्लो पटक ५० वटा प्रदान गरेको छ ।

आर्थिक संकटबाट गुज्रेको श्रीलंकाको यातायात पूर्वाधार सुधार गर्न भारतले ती बस उपलब्ध गराएको कोलम्बोस्थित भारतीय दूतावासले जानकारी दिएको छ । श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवस मनाइएको भोलिपल्ट कोलम्बोस्थित भारतीय उच्चायुक्त गोपाल बागलेले राष्ट्रपति विक्रमासिंघेलाई बसको साँचो हस्तान्तरण गरेका हुन् ।

ती बस श्रीलंका यातायात बोर्डको निगरानीमा सञ्चालन हुने जानकारी दिइएको छ । सन् १९४८ मा स्वतन्त्र भएपछि दक्षिण एशियाको टापु राष्ट्र ७४ वर्ष यताकै ठूलो आर्थिक संकटमा छ । विदेशी मुद्राको अभावका कारण मुलुकले दैनिक उपभोग्य वस्तु र औषधिसमेत आयात गर्ने अवस्था छैन ।

श्रीलंकामा चर्को आर्थिक र ऊर्जा संकट उत्पन्न भएको छ । हजारौं मानिस दिनहुँ पेट्रोल पम्पहरुमा घण्टौं लाइनमा लागेका छन् । अझै पनि लोडसेडिङ भइरहेको छ । 

भारतले पछिल्लो एक वर्षमा श्रीलंकालाई ४ अर्ब डलर बराबरको आर्थिक सहयोग गरेको जानकारी पनि दिइएको छ ।

टिप्पणीहरू