सत्ता गठबन्धनमा संकटको संकेत

सत्ता गठबन्धनमा संकटको संकेत

कुनै समय थियो,एमाले अध्यक्ष केपी शर्मा ओली तल्लो तलामा पार्टीको बैठक चलिरहँदा बालुवाटारको माथिल्लो तलामा त्यसै बसेर टारिदिनुहुन्थ्यो । आफू प्रधानमन्त्री हुँदा तत्कालीन नेकपाको सचिवालय बैठकका लागि दुई पाइला तल नझर्ने उहाँ आजकाल दैनिकजसो बालकोटदेखि बालुवाटार धाइरहनु भएको छ । आफ्ना समकालीन नेताहरुलाई झुकाएको सन्देश दिन आफ्नै दैलोमा बोलाउने अध्यक्ष ओलीको अहिले दिनको एकचोटी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने एक प्रकारको रुटिन नै बनेको छ । 

माओवादीको समर्थन लिएर भावी राष्ट्रपति आफ्नो पोल्टामा पार्न प्रधानमन्त्री प्रचण्डलाई मनाउनुपर्ने बाध्यता आइलागेपछि ओलीको बालुवाटार दौडाहा बढेको बुझ्न कठिन छैन । माओवादीको स्थायी कमिटी बैठकले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेपछि सशंकित हुनुभएका ओली र प्रधानमन्त्री प्रचण्डबीच केही दिनयता बाक्लिएको भेटघाट आज पनि जारी रह्यो । 

प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत राष्ट्रपति निर्वाचनलाई लक्षित गरी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको छ । माओवादीसँग टुटेको सम्बन्ध जोड्न प्रयास गरिरहेको काँग्रेसले सोहीअनुसार रणनीति बनाएर प्रदेशमा पनि माओवादी नेतृत्वको सरकारलाई समर्थन गरेको छ । माओवादी र काँग्रेसबीच विश्वासको वातावरण बनिरहँदा एमाले पंक्ति भने सशंकित बनेको हो । 

पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेले लिने सहमति भएको सो पार्टीका नेताहरु दावी गर्छन् । तर,माओवादी नेताहरुले भने पुस २६ गते कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएकाले परिस्थिति बद्लिएको र सोहीअनुसार राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्नेमा जोड दिइरहेका छन् । 

'ढुक्क हुने अवस्था छैन । तर,पनि प्रचण्डबाट धोका हुँदैन कि भन्ने विश्वास छ', एक एमाले नेताले भने

यही संशयका बीच प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच आजको भेटमा खुलेरै कुराकानी भएको बताइन्छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको छलफल राष्ट्रपति निर्वाचनमा केन्द्रित रहेको निकट स्रोतले बताएको छ । बुझिएअनुसार आजको भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्नेमा जोड दिँदा ओलीले आफ्नो पार्टीले अघि सार्ने उम्मेदवारलाई निर्वाचित गराउनुपर्ने अडान लिनुभयो । 

अध्यक्षको दैनिक बालुवाटार दौडाहाले एमाले-माओवादीबीच अविश्वासको खाडल गहिरिएको बुझेको एमालेपंक्ति अझै आशावादी भने देखिन्छ । कांग्रेसले धोका दिँदा एमालेले काँध हालेर प्रधानमन्त्री बनाइदिएकाले प्रचण्डले धोका नदिने ओलीको कोर टिमको आशा छ । काँग्रेसले धोका दिइसकेकाले अर्को चुनावमा एमालेसँग मिल्नु प्रचण्डको बाध्यता रहेकाले राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई माओवादीले स्वीकार्ने एमाले नेताहरुको विश्लेषण सुनिन्छ ।

'ढुक्क हुने अवस्था छैन । तर,पनि प्रचण्डबाट धोका हुँदैन कि भन्ने विश्वास छ', एक एमाले नेताले भने । माओवादीले भनेको राष्ट्रिय सहमतिको उम्मेदवारबारे एमाले पंक्तिको बुझाई अर्कै छ । एमालेकै उम्मेदवार हुँदा पनि आफूले रोजेको पात्र खोज्ने अर्थमा माओवादीले राष्ट्रिय सहमतिको विषय बाहिर ल्याएको हुनसक्ने ती नेताले बताए । 

अहिलेको राष्ट्रपति केपी ओलीप्रति बढी प्रतिवद्ध हुँदा कतिपय अवस्थामा संविधान मिचिनेसम्मको परिस्थिति झेलेर आएको माओवादीले त्यस्तो पात्रलाई रोक्न नयाँ रणनीति बनाएको विश्लेषण बाहिर पनि भैरहेको छ । 'माओवादीले राष्ट्रिय सहमति नभए विचार मिल्ने उम्मेदवारलाई सघाउने निर्णय गर्नु भनेको आफू अनुकूलको पात्र खोजेको बुझिन्छ', च्यासल स्रोतले भन्यो, 'अष्टलक्ष्मी शाक्य,  सुवास नेम्वाङलाई उम्मेदवार बनाए माओवादीले समर्थन गर्ने सम्भावना  छ । तर,इश्वर पोखरेल, डोरमणि पौडेललाई राष्ट्रपति बनाउन माओवादी तयार हुने देखिंदैन ।'

आगामी २८ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल पूरा हुने भएकाले त्यसको ३ दिनअघि नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । २५ फागुनका लागि निर्वाचनको मिति तय भएसँगै राष्ट्रिय राजनीति गर्माउन थालेको हो । यसै विषयमा हिजो प्रधानमन्त्री प्रचण्डले ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त छलफल गर्नुभएको थियो ।

टिप्पणीहरू