विदेशमा ज्यान गुमाउनेका परिवारलाई ३२ करोड सहयोग

विदेशमा ज्यान गुमाउनेका परिवारलाई ३२ करोड सहयोग

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकको पीडित परिवारलाई करिब ३२ करोड क्षतिपूर्ति रकम वितरण गरेको छ । बोर्डले चालू आर्थिक वर्षमा कल्याणकारी कोषमार्फत विभिन्न मुलुकमा रोजगारीका क्रममा मृत्यु भएका ७ सय १८ जना कामदारका परिवारलाई ३१ करोड ९२ लाख ५५ हजार रुपैयाँ रकम वितरण गरेको जानकारी दिएको छ । 

यस्तै, वैदेशिक रोजगारीका क्रममा अंगभंंग तथा गम्भीर घाइते भएका १ सय १५ जनालाई ३ करोड ७९ लाख रुपैयाँ वितरण गरिएको छ । १४ जना परिवारका सदस्यलाई स्वास्थ्यउपचारको निम्ति ७ लाख प्रदान गरिएको बोर्डले जनाएको छ । वैदेशिक रोजगारीमा जाँदा मृत्यु भएका कामदारका बालबच्चालाई छात्रवृत्तिस्वरुप ३४ जिल्लाका १ हजार २ सय १० जनामध्ये १९ जिल्लाका ६ सय २७ जनालाई ५७ लाख रुपैयाँ दिइएको छ । 

बोर्डका कार्यकारी निर्देशक डा.द्वारिका उप्रेतीका अनुसार वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारलाई आर्थिक सहायता गर्ने वा गम्भीर घाइते भएका बिरामीहरुको उद्धार गर्ने, बिरामी तथा अंगभंग भएकाको निम्ति उपचार खर्च व्यहोर्ने र विदेशमा अलपत्र परेका शव नेपाल ल्याउनेजस्ता कार्यहरु बोर्डले गर्दै आएको छ । साथै बोर्डले रोजगारदाता मुलुकमा आन्तरिक विद्रोह तथा आर्थिक मन्दीका कारण अलपत्र परेका कामदारहरुको उद्धार गर्ने, जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुका साथै विदेशमै सुरक्षित गृह सञ्चालन गर्दै आइरहेको छ ।

बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ३ सय ६१ जनाको शव उनीहरुको घरसम्म पुर्याइसकेको पनि उनले जानकारी दिए । त्यस्तै, १ सय ७१ जनाको शव नेपाल ल्याउन बोर्डले सहयोग गरेको छ । जसमा ३२ जनाको शव नेपाल ल्याउन १ करोड ३६ लाख ३२ हजार १५७ रुपैयाँ खर्च भएको जनाइएको छ ।

बोर्डले वैदेशिक रोजगारमा गएका ९७ जना कामदारको उद्धार तथा खोजतलासका लागि सम्बन्धित दूतावासलाई पत्राचारसमेत गरेको छ । पाँच जना बिरामी कामदारलाई नेपाल ल्याउन बोर्डले ३७ लाख ५३ हजार १४९ रुपैयाँ खर्च भएको जनाएको छ । 

बोर्डकी शाखा अधिकृत कल्पना खनाल रेग्मीले चालू आर्थिक वर्षको साउनदेखि माघसम्मको विवरणको आधारमा श्रम कल सेन्टर कार्यालयमा विभिन्न जिज्ञासा, गुनासो, रिर्पोट, श्रमसम्बन्धी प्रश्नलगायत विषयमा वैदेशिक रोजगार बोर्डको सचिवालयअन्तर्गत निवेदन दिनेहरुको कुल संख्या २ सय १४ रहेको जानकारी गराइन् । 

जसमा तीन जनाको निवेदन प्रक्रियामा रहेको छ । २२ जनाको प्रक्रियागत कार्य अघि बढेको, ९६ जनाको अनुसन्धान जारी रहेको र ९३ जनाको समस्याका विषयमा रहेका निवेदन बोर्डबाट समाधान गरिसकेको पनि उनको भनाइ छ ।
 

टिप्पणीहरू