सर्वोच्चको आदेशपछि शाखा अधिकृतको लिखित परीक्षा रोकियो

सर्वोच्चको आदेशपछि शाखा अधिकृतको लिखित परीक्षा रोकियो

लोकसेवा आयोगले शाखा अधिकृतका लागि तोकेको दुवै चरणको लिखित परीक्षा स्थगित गरेको छ । माघ २० गतेको सर्वोच्च अदालतको अन्तरिम आदेश कार्यान्वयनको निम्ति आयोगको आज बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

आयोगका उपसचिव देवीप्रसाद सुवेदीले शाखा अधिकृत अप्राविधिकतर्फ प्रथम चरणको माघ २८ गते र आगामी चैत २१ गतेका लागि तय गरिएको द्वितीय चरणका परीक्षा कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराए । 

आज जारी विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतबाट रिट नम्बर ०७९–धय–०८०९ उपर माघ २० मा जारी भएको अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगको आज बसेको बैठकको निर्णयबाट आयोगको विज्ञापन नम्बर १६६९२ र ०७९/८०, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदका लागि यही माघ २८ गते सञ्चालन हुने गरी तोकिएको प्रथम चरणको परीक्षा कार्यक्रम तथा चैत २१ गतेदेखि सञ्चालन हुने गरी तोकिएको उक्त विज्ञापनका द्वितीय चरणका परीक्षा कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ ।’

टिप्पणीहरू