भारतीय सन्तको प्रवचनका लागि सभाहल दिएको विरोधप्रति लुम्बिनी विकास कोषको प्रष्टीकरण

भारतीय सन्तको प्रवचनका लागि सभाहल दिएको विरोधप्रति लुम्बिनी विकास कोषको प्रष्टीकरण

लुम्बिनी विकास कोषले धार्मिक र सामुदायिक सद्भाव कायम गराउन सहयोगको आग्रह गरेको छ । लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथा प्रेमयज्ञ समितिबाट भारतीय सन्त मोरारी बापूबाट प्रवचन हुने कार्यक्रमको विषयमा विभिन्न संघसंस्थाले विरोध जनाएपछि कोषले यस्तो अनुरोध गरेको हो । 
 
कोषका सदस्यसचिव सानुराजा शाक्यले विज्ञप्ति जारी गर्दै बौद्ध दर्शन, परम्पराविपरीत हुने गरी पवित्र उद्यानबाहिर लुम्बिनी सांस्कृतिक केन्द्रमा रहेको सभाहल मात्र प्रयोग गर्न दिएको भनेका छन् । सरकारको लगानीमा बनेको सभाहल सबैको साझा धरोहर रहेको बताउँदै उनले कोभिडबाट खुम्चिएको पर्यटनलाई उकास्न सहयोग पुग्नेगरी आएका प्रस्तावित कार्यक्रम गर्न समझदारीका आधारमा हल प्रयोग गर्न अनुमति दिने बताए ।

‘कोभिडबाट खुम्चिएको हाम्रो पर्यटनलाई उकास्न सहयोग पुग्नेगरी आएका प्रस्तावित कार्यक्रम समझदारीका आधारमा हल प्रयोग गर्न अनुमति दिएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यही माघ २१ गतेदेखि रामकथा प्रेमयज्ञ समितिलाई माघ २९ गतेसम्म प्रयोग गर्न अनुमति प्रदान गरिनुका साथै आयोजकले लिनुपर्ने अन्य सरकारी निकायबाट समेत अनुमति लिईसकेको हुँदा हामीले बौद्ध दर्शन, परम्पराविपरीत नहुनेगरी पवित्र उद्यानबाहिर लुम्बिनी सांस्कृतिक केन्द्रमा अवस्थित हल प्रयोग गर्न अनुमति प्रदान गरेको सबैमा अनुरोध छ ।’

साथै, लुम्बिनीमा निर्माण भएको हलमा बृद्ध र लुम्बिनीलाई श्रद्धा राखेर बौद्धआस्थालाई ठेस नपुर्याई गतिविधि गर्न चाहन्छन् भन्ने यसमा आपत्ति गर्नुहुँदैन भन्ने बौद्ध विद्वानहरुको सुझावलाई समेत स्मरण गरेको सचिव शाक्यले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

कोषले अहिले कतिपय संस्थाहरुले बुद्ध जन्मस्थलमा आध्यात्मिक वातावरण बनाउन सघाय पुर्याउने उद्देश्यले राखेका सुझावहरुलाई अन्तराष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्र सञ्चालन कार्यविधिमा समेटेर लैजाने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । 

लुम्बिनीलाई गुरुयोजना बनाई अन्तर्राष्ट्रिय शान्ति सद्भाव तथा बन्धुत्वको केन्द्र बनाउने परिकल्पनाकार संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उथान्तले विश्वका सबै धार्मिक, सांस्कृतिक तथा सामाजिक नेताहरु लुम्बिनी आई द्वन्द्व र गरिबीमुक्त विश्व निर्माण गर्न प्रेरणा लिने परिकल्पनासमेत भएको स्मरण गराउँदै कोषले लुम्बिनीलाई विश्वशान्तिको मुहानको रुपमा विकास गर्नुपर्नेमा जोड दिएको छ । 

रामकथा प्रेमयज्ञ समितिलाई यही माघ २१ देखि २९ गतेसम्म प्रवचनको निम्ति अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्र प्रयोगका लागि अनुमति प्रदान गरिएको थियो । तर, कोषको पछिल्लो निर्णयको विभिन्न धार्मिक संगठनहरुले बिरोध गरेका छन् ।

टिप्पणीहरू