अनाडी डाक्टरले जीवनमा मच्चाएको आतंक

त्यसै ‘यु टर्न’ हुँदैन मान्छेको जिन्दगी, केही कारण चाहिन्छ हिँडिरहेको बाटो बदल्न । हाम्रो समाजले चिकित्सकलाई भगवानकै दर्जामा राखेको छ । भन्छन् नि कच्चा वैद्यको मात्रा, यमपुरीको यात्रा । त्यही अनाडी डाक्टरका कारण मान्छेको जिन्दगी कसरी तहस नहस हुन्छ ? र, कसरी लुटिन्छ खुशी अनि शिकार हुन्छ मानसिक तनावको ! यसकै जल्दोबल्दो उदाहरण हुन् मिङमार छिरिङ तामाङ । उज्यालोपछिको अँध्यारो भनेझैं त्यही अनाडी चिकित्सकको कारण मोडिएको छ, जीवनको बाटो । 

बत्तीमुनिको अँध्यारोको नियति भोगेर बाँचिरहेको र हाँसिरहेको बाग्मती प्रदेशभित्रको कर्णाली मानिने रसुवाको बृद्धिममा जन्मिए । निम्नवर्गीय परिवारमा, कान्छो छोरा । विहान खाए बेलुका के खाऊँ, बेलुका खाए बिहान के खाऊँ ? हातमुख कसरी जोड्ने यही समस्याले घेरिरहन्थ्यो हरपल । निकै विरहलाग्दो थियो बालापन । बुवा÷आमाले परिवारका हात मुख जोड्न दिन रात हाड छाला घोटेको, पापड पेलेको देख्दथें नजिकैबाट । त्यही दृश्यले बाल मस्तिकमा गहिरो छाप र प्रभाव पर्न गयो । 

आखिर दुनियाँमा पापी पेटभन्दा ठूलो कुरा के रहेछ र ? पाप कर्म गर्न पनि त्यही पेटले सिकाउँछ र पुण्यको बाटो पनि त्यही पेटले तय गर्छ । पेट पाल्नकै लागि बुवा÷आमासँगै अर्म÷पर्म, मेलापात र भारी बोक्न सँगसँगै निस्कन्थे । कयौंका भारी बोके, गरे मजदुरी । मजदुरी मजबुरी थियो । सडक निर्माणको काम हुँदा मजदुरका रूपमा रोड खन्ने, तार, सिमेन्ट बोक्दै हिँडे । तर, पनि कहाँ पाइन्थ्यो र पेटभरी खान ? मुश्किलले जुटाइएको एक माना चामल उमालेर परिवारका ५÷६ पेट भर्नुपर्ने दुःखी दिन थिए ती । 

हिमाली जिल्लामा धान फल्दैनथ्यो । फल्थ्यो त केवल कोदो र फापर । हिउँ परेर सेताम्य हुन्थे, बाली लगाएको जग्गा । चामल बेसाउन पथ्र्याे । त्यही चामल लिनका लागि २ दिनको बाटो पैदल नाप्दै बृद्धिमबाट झर्नुपथ्र्याे त्रिशुलीसम्म । जीवनका तीन दशक असाध्यै कष्टसँग बिते । फेरिए साहुहरू तर फेरिएनन् दुखको रंग र आकार । उही स्वरूपमा घस्रिरहेको थियो जिन्दगी । गरिब भएर जन्मनु कुनै पाप वा अपराध होइन, गरिबीमै बाँच्नुचाहिँ अपराध हो । मान्छेलाई पुरानो जिन्दगीले त्यतिबेलासम्म लघारिरहन्छ जबसम्म उसले त्याग्न सक्दैन पुराना चिन्तन र विचार । रूपान्तरण हुनका लागि धेरै समय पनि लाग्दैन मान्छेलाई बस, एउटै विचारले फेरिदिन्छ मान्छेको जीवन । विचार फेरेपछि पुराना कपडा फालेर नयाँ कपडा लगाइएझैं, पात झरेर उजाड बनेको वृक्षमा पालुवा फेरिएझैं फेरिन्छ जीवन । 

रसुवामा कसैको जीवन सुनले फेरिएको छ, उनको जीवन ऊनले बदलियो । साहुको भारी बोक्दै गर्दा केरुङबाट ऊन पनि बोक्न थाले । तिनताक ऊनको अत्यधिक खपत हुन्थ्यो काठमाडाँैको बौद्ध र स्वयम्भूतिर । यसैले फेरियो जीवनको नक्सा, कोरियो नयाँ मार्गचित्र । मुनाफा राम्रै बस्न थाल्यो । यही कर्मलाई निरन्तरता दिए केही वर्ष । साहुको भारी बोक्दा दुई छाक खान धौधौ हुन्थ्यो । अब मुनाफाबाट बचत गर्दै गए । भन्छन्, कोही पनि मान्छे कमाएर होइन, बचाएर धनी हुने हो । त्यसैलाई बनाए मूलमन्त्र । 

ऊन व्यापारबाट आर्जन भएको मुनाफाले लाटाङमा एउटा घडेरी किने । घर बनाए । किरानापसल राखे । त्यही घरमा पर्यटकका लागि होटल खडा स्थापना गरे । होटल राम्रै चल्यो । त्यही होटलले जिन्दगी अलिकति उकास्यो । त्यहाँ ९ वर्षसम्म बसे । र त्यहाँबाट लामा होटलमा । त्यहाँ पनि बित्यो जीवनका ऊर्जाशील नौ वर्ष । व्यापारले राम्रै गति लियो । राम्रै मुनाफा कमाउँदै थिए । तर मान्छेको जिन्दगीमा सुख दुई दिनको पाहुना न हो फेरि शुरु भयो दुःखको चक्र । मानसिक पीडा र छट्पटिका कहालीलाग्दा दिन । 

अन्नपातको शरीर न हो मान्छेको । कहिलेकाहीँ तल–माथि भैजान्छ । इलाजका लागि जाने ठाउँ भनेकै अस्पताल र भरोसा गर्ने भनेकै डाक्टर न हुन । तर तिनै चिकित्सक अनाडी निस्किए भने मान्छे कसरी बेचैन हुन्छ र मानसिक रूपमा थलिन्छ । त्यसकै भुक्तभोगी हुन् उनी । स्वास्थ्य परीक्षणका लागि ओम नर्सिङ, होम चाबहिल पुगे । रिपोर्ट आउँदा त ‘सक्ड’ । भासिए सपनाहरू । डाक्टरले रिपोर्ट सुनाए ‘तपाईंलाई रक्त क्यान्सर (ब्लड क्यान्सर) भएको छ ।’ जब डाक्टरका मुखबाट आफूलाई ब्लड क्यान्सर भएको सुने तब विक्षिप्त भए । आफ्नो प्राणको यो गति देखेर सुख र दुखको श्रीमती चिन्तित हुनु स्वाभाविकै थियो । सँगै रुन थालिन् उनी ।

तर, त्यहीँ भेटिएका अर्काे एक डाक्टरले ढाडस दिँदै भने, ‘चिन्ता नलिनू, बरु खानपिनमा ध्यान दिनू ।’ नबुझेका होइनन्, बुझेकै कुरा हो चिन्ताले लैजाने चिताकै बाटोतिर हो । तर विपतमा यस्ता अर्तिबुद्धिले कहाँ काम गर्दाे रहेछ र ? खानपिनमा विशेष ध्यान दिन थाले । फलफूल र जडीबुटी छुटेनन् । यार्सागुम्बा, स्याउ हरेक दिन नबिराई खान्थँे । लाग्थ्यो एक मनमा, कतै डाक्टरले गलत रिपोर्ट देखाएको त होइन ? मनको यही आवाज सुनेर केही दिन पछि त्रिवि शिक्षण अस्पतालमा पुगे । ब्लड चेक गराए । त्यहाँको रिपोर्टमा ब्लड क्यान्सर छैन भनियो । एउटा अस्पतालका अनाडी डाक्टरको कारण लुटिएको खुशी फेरि फर्कियो । फर्किए केरुङ । मनमा दृढ प्रतिज्ञा पनि गरे अब यो जीवन त्यसै खेर जानचाहिँ दिन्नँ । 

अब पाएको नयाँ जीवनलाई कसरी सार्थक बनाउन सकिन्छ भनेर घोत्लिन थाले दिनरात । र, केरुङमा पिसफुल रेस्टुरेन्ट खोले । हरदिन रात, साँझ÷बिहान केही नभनी घोटिरहे कर्ममा । त्यहाँ थोरै पुँजीमा शुरु गरेको होटलबाटै जीवनले केही कोल्टे फेरेको छ । यही होटलले नै उनलाई आज यहाँसम्म ल्याएको छ । आफ्नो परिवार र समाजका साथले हरेक काम सार्थक बनेको छ र पूरा पनि भएको छ । होटलसँगै चीन र नेपालको व्यापारिक नाकामा किराना पसल पनि चलाइरहेका छन् । जुन दिन डाक्टरले भने, तपाईंलाई ब्लड क्यान्सर छ । त्यही दिनदेखि लाग्यो । केही भरोसा छैन रहेछ यो जीवनको । हिँड्दा हिँड्दै कहाँ चट्ट चुँडिनसक्छ जिन्दगी ? थाहा छैन कस्को जीवनमा मृत्युरूपी एम्बुस कहाँ बिच्छाइएको छ ? त्यही कारण आर्जन गरेको रकमको केही हिस्सा छुट्ट्याउन थाले सामाजिक कर्ममा । 

आफ्नो गाउँ आफैँ बनाऊँ भन्ने नारालाई सार्थक पार्न होमिए दत्तचित्त भएर । ०७२ सालको भूकम्पले धेरै घर मात्र भत्किएनन् बाटा पनि भत्किए । तर भत्किएका थिएनन् मनहरू । त्यहाँ भत्किएको साढे तीन किमिको बाटो बनाए दुई लाख खर्चिएर । कोभिडको समयमा धेरै रसुवालीको सेवा गरे, सकेको । तर सबै मान्छेलाई कहाँ पच्छ र विकास निर्माण र परोपकारको काम ? समाजको भलो चिताउने मान्छे यही समाजको आँखाको तारो पनि बन्दोरहेछ । त्यो भोगे स्थानीय तहको निर्वाचनमा । निर्वाचनमा होमिएका थिए तर पराजित भए जम्मा १२ मतले । त्यो त्यही विकासको परिणाम थियो कि ? त्यहाँ रोड बनाएकै कारण टेढिए केही आफन्त । यद्यपि, हार खाएका छैनन् । शून्यबाट उठेको मान्छे हुन् । आफ्ना आम्दानीबाट आर्जित केही प्रतिशत रकम हरेक वर्ष सामाजिक कर्ममै खर्चने प्रण गरेका छन् । यसमै खुशी छन् । चाहे कसैले कुरा काटुन्, चाहे कोही आफन्त टेढिऊन् । सरोकार छैन यी चिजसँग । मात्र हेर्न चाहन्छन् समृद्ध बनेको आफ्नो गाउँ, आफ्नो ठाउँ र यी स्थानका स्थानीय । 

– मिङमार छिरिङ तामाङ, रसुवा
 

टिप्पणीहरू