राजमार्गमा पैसाको बाकस

राजमार्गमा पैसाको बाकस

एनआइसी एशिया बैंक सिरहा शाखा कार्यालयबाट राजधानीस्थित केन्द्रीय कार्यालयमा लिएर जाँदै गरेको नेपाली रकम १ करोड ४७ लाख १५ हजार र भारतीय रूपैयाँँ ३० लाख बीपी राजमार्गको धुलिखेल ११ पातलेखेतमा छरपष्ट भएको छ । राजमार्गमा पैसाको बाकस फेला परेपछि स्थानीयले अवैध रकम भएको आशंकामा लुट्ने प्रयास गरेका थिए । बैंकको रकम लिएर हिँड्दा अन्तरजिल्ला जानकारी गराउनुपर्नेमा त्यसो नभएको प्रहरीले जानकारी दिएको छ । ‘धन्न, शहरी क्षेत्र र प्रहरीको निगरानी हुने स्थानमा दुर्घटना भयो’, स्थानीयले भने, ‘एकान्त भएको भए रकम सबै लुटिन्थ्यो ।’

एनआईसी एशिया बैंक केन्द्रीय कार्यालयमा कार्यरत सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका केन्द्रीय कार्यालयका जुनियर असिस्टेन्ट २५ वर्षीय सौरभ रिमालले उक्त रकम प्रहरी कार्यालयबाट बुझेर लगेका छन् । ०७९ मंसिर २९ गते मोरङ जिल्लाको विराटनगरमा रहेको उक्त बैंकको शाखा कार्यालय र सिरहाको लहानस्थित कार्यालयबाट बा२०च ३६५१ नम्बरको सुमोमा लोड गरेर उक्त रकम काठमाडाैँ ल्याउन लागिएको थियो । साँझ ५ बजेपछि एक्कासि बीपी राजमार्गमा पैसा छरिबुरी भएको सर्वसाधारणले फेला पारे ।

धुलिखेल नगरपालिका– ११ को पातलेखेतस्थित बिपी राजमार्गको सडकखण्डमा विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ०२–०२–०१प २३२ नम्बरको मोटरसाइकलले पैसा बोकेर आएको सवारी साधनलाई ठक्कर दियो । ठक्करका क्रममा मोटरसाइकल चालक धनुषा जिल्ला मिथिला नगरपालिका ११ बस्ने २१ वर्षीय गजेन्द्रबहादुर कार्की घाइते भए । लगत्तै सर्वसाधारणले उक्त गाडीभित्र पैसा भएको फेला पारे । नेपाली रूपैयाँसहित भारतीय रूपैयाँका कारण सर्वसाधारण अझै सशंकित भए । गाडीभित्र टनाटन पैसा अनि सडकमा समेत छरिएपछि सर्वसाधारणले प्रहरीलाई खबर गरे ।

प्रहरी नआउञ्जेल उक्त रकम जोगाउन बैंकका गार्डसहित कर्मचारीलाई हम्मे–हम्मे परेको थियो । अझ सर्वसाधारणले उक्त रकम अवैध भनिरहेका थिए । स्थानीयको सहयोगका कारण घाइते मोटरसाइकल चालक कार्कीलाई धुलिखेल अस्पताल लगियो । प्रहरी आएलगत्तै उक्त रकम र गाडी अनि गाडीमा सवार सबैलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान शुरु गरेको थियो । 

प्रहरीको अनुसन्धानबाट उक्त रकम बैंकको पुष्टि भएपछि मोटरसाइकलको क्षतिपूर्ति र घाइते कार्कीको उपचार केन्द्रीय कार्यालयको तर्फबाट गर्ने दुबै पक्षको सहमतिमा उक्त रकम बैंकका प्रतिनिधि सौरभ रिमालले बुझेर लगेका थिए । रोहवरमा सोही बैंकका सुरक्षा गार्ड धादिङ नीलकण्ठ नगरपालिका १३ घर भएका ४४ वर्षीय राजेन्द्र थापा बसे । दुर्घटनामा रकमसमेत फेला परेपछि स्थानीयले सोको स्रोत र धनीबारे पहिचान गर्न प्रहरीलाई अनुरोध गरेका थिए । स्थानीयको संयमताका कारण उक्त रकम लुटिनबाट जोगिएको थियो ।

नियत खराब राखेको भए रकम तल–माथि हुन सक्ने स्थानीयले बताएका छन् । बैंकले रकम ल्याउँदा अपनाउन नसकेको सुरक्षा प्रणालीका कारण सर्वसाधारणको रकम थप जोखिममा पर्ने चुनौती थपिएको छ । 

– मोतीराम तिमल्सिना

टिप्पणीहरू