रवि लामिछानेले बोलाएका पाहुना आज बेलुकी आइपुग्ने

रवि लामिछानेले बोलाएका पाहुना आज बेलुकी आइपुग्ने

मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल आज बेलुकी काठमाडौं आइपुग्दैछन् । नेपालको तीन दिने भ्रमणमा आउन लागेका मन्त्री इस्माइल सवार विमान साँझ ७ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्दैछ । 

भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले भोलि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्नेछन् । उनले मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे नेपाली अधिकारीसँग छलफल गर्नेछन् । मन्त्री इस्माइलले गृह मन्त्रालयकोसमेत जिम्मेवारी लिनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्ने कार्यक्रम छ । उनी भ्रमण सम्पन्न पर्सि शनिबार स्वदेश फर्कने बताइएको छ ।

मलेसिया नेपालको प्रमुख श्रम गन्तव्य मुलुकमध्येको एक हो । उनको औपचारिक भ्रमणको निम्तो पठाइएको समयमा यता गृहमन्त्रीको जिम्मेवारीमा रहेका रवि लामिछाने गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशपछि अवैध नागरिकता काण्डमा पदमुक्त भएका छन् ।
 

टिप्पणीहरू