एमाले अध्यक्षद्वारा रविका लागि गृह र एमालेका लागि राष्ट्रपति माग

एमाले अध्यक्षद्वारा रविका लागि गृह र एमालेका लागि राष्ट्रपति माग

प्रमुख सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउनुपर्नेमा जोड दिनुभएको छ । नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलापछि उपप्रधानसहित गृहमन्त्री गुमाएका लामिछानेलाई सोही पदमा पुनस्र्थापित गराउन लागिपर्नु भएका अध्यक्ष ओलीले आज पनि त्यसैमा जोडबल गर्नुभएको छ । 

माओवादी केन्द्रका नेताहरुले अदालतको फैसलाको पूर्णपाठ आइनसकेको र लामिछानेको दोहोरो राहदानी छानबिन हुनसक्ने अवस्था रहेकाले पुनः गृहमन्त्री बनाउन नहुने तर्क गरिरहेका बेला ओलीले भने पूर्वसहमतिअनुसार चल्नुपर्ने बताउनुभयो ।

पुष्पकमल दाहाद प्रचण्ड नेतृत्वको सरकार गठनका बेला भएको सहमतिअनुसार लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका थिए । तर, उनको नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि सांसदसहित उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त हुँदा प्रधानमन्त्री प्रचण्डले नै गृहको जिम्मा लिनुभएको छ । 

गत आइतबार पुरानै नेपाली नागरिकता प्रमाणपत्रलाई ब्युँताएका लामिछानेले पुनः आफूलाई गृहमन्त्रीको शपथ खुवाउन ओलीलाई भनेर प्रधानमन्त्री प्रचण्डमाथि दबाब बढाइरहेका छन् । लामिछानेलाई गृहमन्त्रीमा शपथ गराउन ओलीले हिजो बिहान पनि बालुवाटार पुगेर प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको थियो । तर, ओली र लामिछाने दुवैको आग्रहलाई प्रधानमन्त्री प्रचण्डले बेवास्ता गर्दै आउनुभएको छ । 

सोही सन्दर्भमा आज विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै  अध्यक्ष ओलीले रास्वपाबाटै गृहमन्त्री हुने किटान पनि गर्नुभयो । रास्वपाले गृहमन्त्रीमा लामिछानेलाई पठाएमा अरुले आपत्ति जनाउनुपर्ने आवश्यकता नरहेको बताउनुभएका ओलीले भावी राष्ट्रपति पनि आफ्नै पार्टीबाट हुने दाबी गर्नुभयो । तर, सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएको छ भने गृह मन्त्रालय आफैँ राख्ने तयारी गरेको छ ।
 

टिप्पणीहरू