गुप्तचर संस्थाको बेहाल, सरुवा नीति ध्वस्त बनाइएको आरोप

गुप्तचर संस्थाको बेहाल, सरुवा नीति ध्वस्त बनाइएको आरोप

मुलुकको एक मात्र गुप्तचर संस्थामा बेथितिको चरम रुप देखिएको छ । संस्थाभित्र वरिष्ठ र कनिष्ठको कुनै मतलव नराखिएको भन्न थालिएको छ ।

एसपीको दरबन्दी भएको कार्यालयमा डिएसपी पठाएर संस्था प्रमुखले  पदको अवमूल्यन गरेको आरोप लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट उपअनुसन्धान निर्देशक सुरेन्द्र कोइरालालाई झिकेर डिएसपी हेमन्त कार्कीलाई पठाइएको छ । कतिपय एसपीहरु प्रदेशमा थन्काइएको कारण कार्यालयको कोठा खोज्दैमा दिन बित्न थालेको बताइन्छ ।

हिजो मात्रै विभागमा २२ जनाको बढुवा भएको छ । कागजमा बढुवा भए पनि व्यवहारमा जुनियरको ठाउँमा जानुपर्ने भएपछि धेरैको मन अमिलो हुने गरेको जनआस्थालाई प्राप्त विवरणमा उल्लेख छ ।

महत्वपूर्ण सुरक्षा निकाय भनिए पनि अनुसन्धान विभागमा अपरेशन शाखा नरहेको र प्रविधिको उच्च प्रयोग भइसकेको सन्दर्भमा अझै पनि टेलिफोन, फ्याक्स र इमेलमार्फत रिपोर्ट गरिएकाले अवस्था बाजेकै पालाको देखिएको कर्मचारीहरुको गुनासो छ ।

भदौमा हुतराज थापा संस्थाको प्रमुख बनेको पनि छ महिना बितिसक्यो छ भन्दै प्रेषित पत्रमा लेखिएको छ, ‘मातहतको निम्ति गाली र कराउनेबाहेक सुधारका कुनै उपाय अवलम्बन गरिएको छैन । रोल्पा घर भएका थापा बालाराम घर्ती मगरका एक्का हुन् । आजभोलि राजेन्द्र लिङ्देनसँग पनि अच्छा सम्बन्ध छ ।’ 

यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा दरबन्दी थपेर शहीद परिवारका नाममा सुदूरपश्चिमकै एआईजी ओम जोशीलाई पाखा लगाइएको थियो । प्रमुख अनुसन्धान अधिकृत तोकिएपछि थापाले गलत  रिपोर्टिङ गरेकै कारण गत आमचुनावमा माओवादीले गतिलो नतिजा ल्याउन नसकेको चर्चा त्यतिबेलै भएको थियो । 

उता भक्तपुर घर भएको नाताले एमाले नेता महेश बस्नेतमार्फत् अन्यत्र पनि महत्वपूर्ण सूचना पठाइएको आरोप बाहिरकाले होइन, भित्रैकाले लगाएका छन् । अधिकृतस्तरका पूर्वलडाकू दीपक केसीलाई दायाँ राखेपछि सबै अचम्मित भएका छन् । जनार्दन शर्माको गाउँले भएकै कारण थापाका प्रायः निर्णयमा रुकुम पश्चिमको हावा घुस्दा एआईजीदेखि डिआइजीसम्म जिल्ल पर्नु स्वाभाविक भएको उनीहरुको भनाइ छ ।
 

टिप्पणीहरू