खर्च गर्ने करोडमा, हिसाब बनाउने लाखमा

खर्च गर्ने करोडमा, हिसाब बनाउने लाखमा

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरूले निर्वाचन खर्च बुझाएका छन् । निर्वाचन आयोगको २०७९ असोज १६ गतेको निर्णयअनुसार दुबै तहमा उम्मेदवार रहेका व्यक्तिहरूले खर्च गर्न पाउने सीमा तोकिएको थियो । सीमा र समयावधिभित्र रहेर उम्मेदवारहरूले खर्च विवरण बुझाएका छन् । काभ्रेमा ६४ उम्मेदवारले प्रतिस्पर्धा गरेको भए पनि १३ जनाले एक रुपैयाँँ पनि खर्च नभएको विवरण पेश गरेका छन् । 

विजयी हुने सम्भावित उम्मेदवारले करोडाैँ खर्च गरेको रकम औँला भाँचेर हिसाब गर्न सकिन्छ । करोडमा खर्च गरेकाले लाखमा हिसाब बुझाएका छन् । निर्वाचन प्रणाली, निर्वाचनका लागि गरिने खर्च र बुझाउने विवरणप्रति कतै तालमेल देखिँदैन । जिल्लामा सबैभन्दा धेरै प्रदेश सभाको उम्मेदवार र मन्त्रीसमेत रहेका रत्नप्रसाद ढकालले १८ लाख ७० हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् । ढकाल गठबन्धनतर्फका उम्मेदवार हुन् । ढकालपछि धेरै खर्च गर्ने सूर्यमान दोङ हुन् । उनले १८ लाख ४५ हजार खर्च भएको विवरण पेश गरेका हुन् । गठबन्धनबाट दोङ, ढकाल र तीर्थ लामा उम्मेदवार थिए । लामाले १५ लाख ३५ हजार ४ सय ५ खर्च गरेको विवरण पेश गरेका छन् । लामा कांग्रेस जिल्ला सभापतिसमेत हुन् । दोङ र ढकाल माओवादीका हुन् । सोही क्षेत्रमा उम्मेदवार भएका एमालेका रेशम लामाले ६ लाख ५३ हजार ९ सय ५० खर्च गरेको विवरण बुझाएका छन् । नेकपा एमालेका दिलिप तामाङले ६ लाख ११ हजार १ सय र चन्द्र लामाले १० लाख ७ हजार ८ सय ९३ रुपैयाँ खर्च भयो भन्दै छन् । गठबन्धनका उम्मेदवारले गरेको खर्चसँग प्रतिस्पर्धा गर्न नसकेकै कारण एमाले उम्मेदवारहरूले पराजय व्यहोर्नुपरेको समीक्षा गरिएको छ ।  

प्रतिनिधि सभा–२ मा एमालेका गोकुलप्रसाद बाँस्कोटाले ९ लाख २ हजार ९ सय ७६ रुपैयाँ खर्च भएको हावादारी विवरण बुझाएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका शिवप्रसाद हुमागाईले ९ लाख ३८ हजार ४ सय ८९ रुपैयाँ खर्च गरेका छन् । गठबन्धनका दलहरूको भन्दा ५ हजार ८ सय धेरै मतले बाँस्कोटा विजयी भएका थिए । गठबन्धनतर्फ नेकपा समाजवादीका लक्ष्मण लम्सालले १२ लाख ८० हजार १ सय २४ रुपैयाँ खर्च भएको देखाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमार लामिछानेले ४ लाख ६७ हजार ६ सय ९० रुपैयाँ खर्च गरेका छन् । त्यस्तै, गठबन्धनतर्फ कांग्रेसका कञ्चनचन्द्र बादेले १६ लाख ४५ हजार रुपैयाँको हिसाब बनाएका छन् । धेरै खर्च गर्ने उम्मेदवारमध्ये बादे तेस्रो हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका कुमार थापाले ६ लाख १८ हजार ९ सय ५९ रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन् । 

प्रतिनिधि सभा उम्मेदवाहरूका लागि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने कानुनी व्यवस्था छ । जति खर्च गरे पनि उम्मेदवारहरूले आयोगको कानुनी व्यवस्थाभन्दा कम खर्च गरेको विवरण बुझाएका छन् । समानुपातिकतर्फ प्रतिनिधि सभाका लागि प्रति उम्मेदवार २ लाख र प्रदेश सभाका लागि १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था थियो । काभ्रेबाट ३३ जना समानुपातिक उम्मेदवार थिए । उनीहरू कसैले पनि विवरण बुझाएका छैनन् । पुस १६ गतेसम्म प्रत्यक्षतर्फको खर्च विवरण बुझाउनुपर्ने समय–सीमाभित्रै ६४ उम्मेदवारले विवरण बुझाएको निर्वाचन आयोग काभ्रेका उमेश राईले जानकारी दिनुभयो । निर्वाचन आयोगमा ६४ मध्ये १३ जना उम्मेदवारले निर्वाचनको समयमा एक रुपैयाँ पनि खर्च नभएको विवरण पेश गरेका छन् । खर्च नगर्ने उम्मेदवारहरूमा राजन घोरसाइने, शेषराज लामिछाने, विजय तामाङ, प्रज्ञान अस्तानी मगर, सूर्यलाल तामाङ, कृष्णबहादुर तामाङ, मुना तामाङ, कृष्णकुमार वैद्य, पूर्ण सिं तामाङ, गणेश कपाली, दानबहादुर थापा, चन्द्रमान तामाङ, जनकबहादुर तामाङ छन् ।

छोटो समयमा लोकप्रियता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बसुनारायण श्रेष्ठले १ लाख २५ हजार ४ सय ८० रुपैयाँ र दिनेश हुमागाईंले १३ लाख ८ हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् । ३३ मत ल्याउने स्वतन्त्र उम्मेदवार माधवप्रसाद कँडेलले ८९ हजार खर्च भएको विवरण पेश गरेका छन् भने ४६ मत ल्याउने लोकतान्त्रिक समाजवादी पार्टीका प्रकाश लामाले २ लाख ८० हजार खर्च भएको विवरण पेश गरेका छन् । त्यस्तै ८५ मत ल्याउने राप्रपाका गोविन्दराज गिरीले १ लाख ४१ हजार रुपैयाँ खर्च गरेका छन् भने १ सय २३ मत ल्याउने नेपाल लोकतान्त्रिक पार्टीका सञ्जीव बल तामाङले ३ लाख ७० हजार खर्च गरेका छन् । त्यस्तै, २ सय ८ मत ल्याउने नेपालका लागि नेपाली पार्टीका नरमान लोप्चनले ५ हजार खर्च भएको विवरण बुझाएका छन् । खर्च गरेर सबैभन्दा कम खर्च गरेको विवरण बुझाउने उनै लोप्चन हुन् ।
 

टिप्पणीहरू