बाँच्दाभन्दा मरेपछि झन् बिजोग

बाँच्दाभन्दा मरेपछि झन् बिजोग

दुर्घटनामा मरेका मान्छेलाई झनै सास्ती हुने रहेछ । पोष्र्टमार्टम गर्ने, भिसेरा परिक्षणका लागि शरीर चिर्नुपर्ने र डिएनए परीक्षणका लागि जरासहितको दाँत झिक्नुपर्ने बाध्यता दुर्घटनामा पर्नेलाई छ । 

यति एयरको प्लेन दुर्घटनामा ज्यान गुमाउने ७२ जनामध्ये अझै पनि १८ वटा शवको पहिचान हुन सकेको छैन । त्यस्तो अवस्थामा केहीले भने सद्गतको लागि चाँडै शव पाउन टिचिङ हस्पिटलअगाडि चक्काजाम गरेका छन् । सद्गत गर्न ढिलाइ हुँदा पीडित परिवारजन आक्रोशित हुनु स्वभाविकै पनि हो । तर, कानूनी दृष्टिकोणले भने यसमा निकै जटिलता देखिन्छ । प्लेन दुर्घटनामा परेकाहरुको डिएनए म्याच नभैकन बिमावापतको रकम भुक्तानी गर्न विदेशी कम्पनी नमान्ने भएकाले यस्तो ढिलाइ हुन गएको बुझिन्छ । संख्या धेरै हुँदा शव सुरक्षित राख्न बाकसहरुको समेत अभाव हुने गरेको छ । 

डिएनए परिक्षणका लागि यति एयरको दुर्घटनामा ज्यान गुमाएकाहरुको जरासहितको दाँत झिकेर सुरक्षित राख्न कास्की प्रहरीले अस्पताललाई पत्राचार गरेको छ । यसबाट मृतक हिन्दूहरुको जल चढाउने र अर्घ दिने मुख झनै विभत्स र कुरुप हुने पक्का छ । कम्पनीले प्रति यात्रु २० हजार डलर र चालक दलका सदस्यहरुको लागि ४० हजार डलरको विमा गरेका हुन्छन् । यो रकम दाबी गर्नका लागि शव परीक्षणमात्रै नभएर डिएनए परिक्षण पनि आवश्यक पर्ने भएपछि जरासहितको दाँत सुरक्षित राख्न परेको हो । विदेशी कम्पनीले भनसुनको आधारमा विमा दिने गर्दैन, यसका लागि आवश्यक प्रमाणसहितको कागजात माग गरिन्छ ।

दरवार हत्याकाण्डमा रानी ऐश्वर्यको अनुहार गोलीले छियाछिया पारेपछि नक्कली मुखुण्डो लगाएर सद्गत गरिएको थियो । द्वन्द्वकालमा माओवादीले हत्या गरेका काभ्रे पाँचखालका एमाले नेता बलराम सापकोटाको अहिलेसम्म सद्गत गरिएको छैन । उनको परिवार कि लाश लेऊ कि सास देऊ भन्दैछन । शव प्राप्त भएर मृत्युको यकिन नहुँदासम्म काजकिरिया नगर्ने रीत छ । यतिको हकमा पनि लाश त फेला प¥यो तर कसको हो, पहिचान हुन सकेको छैन । धेरैजसो शवहरु लगाएको घडी, मोबाइल र कपडाका आधारमा पहिचान भएका हुन् । त्यसैले यस्तो बेला डिएनए परिक्षणलगायतले झनै जटिलता थपेको छ भने यो परिक्षण नगर्दा पछि क्षतिपूर्तिवापतको रकम नपाउने सम्भावना बढेर जान्छ । 
 

टिप्पणीहरू