भ्रष्टाचारमा मुछिएका भन्सारका नासुलाई अदालतको उन्मुक्ति

भ्रष्टाचारमा मुछिएका भन्सारका नासुलाई अदालतको उन्मुक्ति

भ्रष्टाचार अभियोग लागेका नायव सुब्बा (नासु) देवीबहादुर थापालाई विशेष अदालतले सफाइ दिएको छ । न्यायाधीशत्रय रमेशकुमार पोखरेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले हिजो दाबी नपुग्ने भन्दै यस्तो फैसला सुनाएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाखमा थापाले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेषमा मुद्दा दायर गरेको थियो । भन्सार जाँचपास परीक्षण कार्यालय, तीनकुनेमा नासु पदमा कार्यरत थापामाथि १ करोड ८७ लाख ४७ हजार रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति कमाएर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो । 

अनुसन्धानका क्रममा थापाले उक्त सम्पत्ति आफूसहित बाबु कृष्णबहादुर र आमा चन्द्रमाया थापाका साथै श्रीमती विमसा राउतका नाममा राखेको देखिएपछि जफत प्रयोजनका लागि उनीहरूलाई पनि विपक्षी बनाइएको थियो । तर, अदालतले ती सबैलाई सफाइ दिएको छ ।

नायव सुब्बा थापा २०५६ साउनदेखि सरकारी सेवामा प्रवेश गरेका हुन् ।

टिप्पणीहरू