वर्षमान पुनलाई उपचारको निम्ति फेरि चीन लैजाने तयारी

वर्षमान पुनलाई उपचारको निम्ति फेरि चीन लैजाने तयारी

 दुई सातादेखि सुमेरु सिटी अस्पतालमा उपचाररत माओवादी उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुनलाई थप उपचारको निम्ति विदेश लैजाने तयारी शुरु भएको छ । उहाँको कलेजो/मिर्गौला प्रत्यारोपण गर्नुपर्ने निश्कर्ष चिकित्सकहरुले निकालेपछि उक्त तयारी गरिएको बुझिएको छ ।

उपचारमा संलग्न चिकित्सकहरुको टोलीले दुर्लभ किसिमको जण्डिस रोगबाट ग्रसित पुनको पूर्ण स्वास्थ्यलाभको निम्ति कलेजो/मिर्गौला प्रत्यारोपणमा जोड दिएका थिए । सिग्ल्रार नाजार सिण्ड्रोम टाइप २ नामक जण्डिसबाट ग्रसित नेता पुनले यसअघि दुई पटक चीनमा उपचार गराइसक्नुभएको छ । 

उहाँ पछिल्लो पटक गृह जिल्ला रोल्पामा छँदा पेटको समस्या बल्झिएपछि हेलिकोप्टरमा काठमाडौं आएर उक्त अस्पतालमा भर्ना हुनुभएको थियो । त्यसपछि पेटमा जमेको पानी निकालियो ।

अब पनि उहाँको उपचार चीनमा हुने पारिवारिक स्रोतले बतायो । ‘सम्भवतः यो साताभित्रै उहाँलाई विदेश लगिन्छ होला,’ स्रोतले भन्यो, ‘सबै उपचार चीनमा नै हुने सम्भावना छ । प्रत्यारोपण पनि हुन्छ होला ।’

टिप्पणीहरू