उपराष्ट्रपतिका सल्लाहकारले मध्यराती आतंक मच्चाउँदै हिँडेपछि

उपराष्ट्रपतिका सल्लाहकारले मध्यराती आतंक मच्चाउँदै हिँडेपछि

उपराष्ट्रपति नन्दबहादुर पुनको राज्यमन्त्री सरहको सल्लाहकार हुँ भन्ने एक पात्र हिजो राति महाराजगञ्ज चक्रपथबाट पक्राउ परेका छन् । मध्यराती मापसे गरेर जथाभावी सरकारी गाडी हाँकेको, डिभाइडरमा ठोक्काएको र सशस्त्र प्रहरीका अवकाशप्राप्त एआइजीको गाडीमा क्षति पुर्याएवापत मध्यरात साढे एघार बजे समातिएको प्रहरीले बताएको छ ।

‘जीवन गुरुङ्ग पक्राउ परेका छन् । अनलाइनसमेत चलाउँछु भन्ने उनले आफूलाई उपराष्ट्रपतिको सल्लाहकार दाबी गरेका छन्,’ प्रहरी स्रोतले भन्यो । रक्सीले मातेका चार जनासहित गएराति उनीहरु महाराजगञ्ज प्रहरीको फन्दामा परेका हुन् ।

नयाँ बसपार्क क्षेत्रमा साँझदेखि रक्सी खाएर गुड फ्राइडे मनाएका उनीहरुले मध्यरात  सडकमा ताण्डव मच्चाएको प्रहरीको भनाइ छ । गोंगबुको बिजी मल नजिकै सडकको एउटा डिभाइडरमा गाडी ठोक्काएर अघि बढेपछि उनीहरुले सामाखुसी नजिकै सशस्त्रका पूर्व एआiजी जीतबहादुर पुनको गाडीमा सवारी साधन ठोक्काएका थिए ।

एआइजीको बा.२७ च ४१९८ नम्बरको हाइलक्सलाई पछाडिबाट हिर्काएपछि उनीहरु गाडीसहित भागेको र प्रहरीले पछ्याउँदै जाँदा उनीहरुलाई महाराजगञ्ज प्रहरीले भाग्ने बाटै नभएको अन्तिम बिन्दूबाट समातेको हो ।

गाडीमा गोरखा घर भएका मीनबहादुर घले, पर्वत घर भएका जीवन गुरुङ,सुकेधारा बस्ने सुजन अर्याल मापसे सेवन गरेर फिटान अवस्थामा फेला परेका हुन् । उनीहरु चढेको गाडीको अगाडिको भाग फुटेको छ भने एआइजीको गाडीलाई पछाडिबाट हानेर क्षति पुर्याइएको छ । 

उक्त घटनापछि मध्यरात चालक र तीन जना मापसे सेवनकर्ता सबै प्रहरीको फन्दामा परेका छन्  । पक्राउ परेकाहरुले महाराजगञ्जका इन्स्पेक्टरलाई ‘को हो चिनेको छस् ?’ भनेर धम्क्याएका थिए ।

"सल्लाहकार" गुरुङलगायत मापसे सेवनकर्ताहरुले बा.प्र ०१ ०२६ च ८८४३ नम्बरको बीवाइडी कम्पनीको ब्याट्रीबाट चल्ने अत्याधुनिक सुविधायुक्त चिनियाँ गाडी प्रयोग गरेका थिए । उक्त सवारी साधन प्राइभेट नम्बर प्लेटको हो । 

उनीहरुलाई राति प्रहरीबाट छुटाउन पुगेको सेतो नम्बर प्लेटको गाडी प्रदेश ३ ०१ ००२ झ ४७७७ फोर्ड कम्पनीको थियो । प्रहरीले जीवन गुरुङ्गबाहेक ३ जनालाई  हतकडी लगाएपछि छुटाउन एउटा टोली महाराजगञ्ज पुगेको थियो । 

राति नै मेडिकल चेक गर्न लैजान उनीहरुलाई हतकडी लगाइए पनि जीवनलाई हतकडी भने  नलगाइएको स्रोतको दाबी छ । उनीहरुलाई छाड्न अनेक प्रयास भए पनि एआइजीको गाडीलाई ठोकाएको कारण मापसे प्रयोग गरेर गाडी चलाएकाहरु सबै अहिले प्रहरी हिरासतमा छन् ।

टिप्पणीहरू