प्रधानमन्त्री दाहालको निर्णय अटेर, निगम भन्छ,‘सचिव फेरबदलको प्रभाव पर्यो’

प्रधानमन्त्री दाहालको निर्णय अटेर, निगम भन्छ,‘सचिव फेरबदलको प्रभाव पर्यो’

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिनु भए पनि नेपाल आयल निगमले अटेर गरेको पाइएको छ । हिजो प्रधानमन्त्री प्रचण्डले आम जनतालाई राहत अनुभूत हुने गरी पेट्रोल,डिजेल र हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिनु भए पनि निगमले अहिलेसम्म कुनै निर्णय लिन सकेको छैन । 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गर्न प्रधानमन्त्री प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई भन्नुभएको थियो । तर,हालसम्म पनि निगम सञ्चालक समितिको बैठकसमेत बस्न सकेको छैन । हिजै सचिवहरुको फेरबदल भएकाले समितिको बैठक बस्न नसकेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । 

हिजो बसेको क्याबिनेट बैठकले उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका तोयम रायलाई अर्थ मन्त्रालय पठाएको छ । त्यस्तै, तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको पालामा अर्थबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेका मधु मरासिनीलाई तोयम रायको ठाँउ (वाणिज्य) हेर्ने गरी खटाइएको छ । एउटा जाने,अर्को आउने क्रम रहेकाले तत्काल कुनै निर्णय गर्न सक्ने अवस्था नरहेको प्रवक्ता उपाध्यायको भनाइ छ । 

‘पेट्रोलियम पदार्थको मूल्य घटाउन निगम सञ्चालक समितिको बैठक बस्नुपर्छ । सचिवहरुको फेरबदलका कारण हालसम्म बैठक नै बस्न सकेको छैन’,उनले भने,‘हिजो वाणिज्यबाट पत्र आएको छ । छिट्टै नै बैठक बसेर यसबारे निष्कर्षमा पुग्ने छौं ।’ झट्ट हेर्दा नाफामा रहेको देखिए पनि निगम अझै घाटामा रहेको प्रवक्ता उपाध्यायको दाबी छ । उनले सरकारबाट लिएको ऋण तिर्नसमेत नसकेको बताए । 

‘तत्कालको अवस्थामा निगमले इन्धनबाट नाफा कमाइरहेको जस्तो देखिन्छ । तर,समग्रमा मूल्याङ्कन गर्ने हो भने निगम अझै पनि घाटामा छ । सरकारबाट लिएको सात अर्ब रुपैयाँ ऋण अझै पनि तिर्न सकेको छैन्’,उनले सुनाए । 

इण्डियन आयल निगमसंग बाँकी रहेको बक्यौता रकम भने विस्तारै चुक्ता गरिरहेको उनी बताउँछन् । त्यस्तै, इन्धन खरिदको रकम भुक्तानी गर्न निगमले आफ्नै मुख्यालय धितो राखेर ऋण लिएको थियो । टेकूस्थित मुख्यालयको २९ रोपनी जग्गा राखेर निगमले तीन अर्ब रुपैयाँ ऋण पाएको थियो । प्रवक्ता उपाध्यायकाअनुसार निगमले उक्त ऋण चुक्ता गरिसकेको छ । 

१५ दिनमा ९९ करोड रुपैयाँ नाफा

नेपाल आयल निगमले पेट्रोलियम पदार्थबाट अत्याधिक नाफा कमाइरहेको छ । इण्डियन आयल निगमले पछिल्लो पटक पठाएको मूल्यसूचीअनुसार निगमलाई १५ दिनमा ९९ करोड रुपैयाँ नाफा भइरहेको छ । 

नाफा हुँदाहुँदै पनि पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै हाल विरोध भइरहेको छ । अन्तर्राष्ट्रिय रुपमा घटेर आएको इन्धनको मूल्य समायोजन गर्नुपर्ने माग गर्दै विद्यार्थी संगठनहरु बारम्बार सडकमा उत्रिएका छन् । तर, निगमले हालसम्म पनि इन्धनको मूल्य घटाउन चासो देखाएको छैन् ।

टिप्पणीहरू