कुन कुन सचिव कता पुर्याइए ?

कुन कुन सचिव कता पुर्याइए ?

आज बसेको क्याबिनेट बैठकले सात जना सचिवलाई सरुवा गरेको छ । प्रचण्ड प्रधानमन्त्री भएपछि दोश्रो पटक बसेको क्याबिनेटले एकै पटक यो सरुवा गरेको हो । सरुवामा परेका सचिवहरुमा अर्थ,राजश्व,अख्तियार,वाणिज्य,कानुन,प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका रहेका छन् । 

सरकारले अर्थ सचिवको जिम्मेवारी अर्थकै क्याडर तोयम रायालाई दिएको छ । वाणिज्य मन्त्रालयको जिम्मेवारीमा रहेका उनलाई अर्थ सचिवको रुपमा भित्राइएको छ । राया यसअघि सहसचिव हुँदा आन्तरिक राजस्व र  भन्सार विभाग तथा अर्थ मन्त्रालयमा थिए । यस्तै राजस्व  सचिवका  रुपमा अख्तियारबाट रामप्रसाद घिमिरेलाई भित्र्याइएको छ । 

अख्तियार हेर्दै आएका सचिव  डा.रामप्रसाद घिमिरेलाई राजश्व सचिवको रुपमा भित्राइँदा रामेश्वर दंगाललाई राजश्वबाट तानेर अख्तियारतिरै पठाइएको छ । अघिल्लो पटक बिग्रिएको अर्थ प्रणाली सुधारका लागि भन्दै अर्थ मन्त्रीले अर्थका दुबै सचिव परिवर्तन गरेका हुन् ।

यसअघि सहसचिवबाट बढुवा भएर सिधै अर्थ मन्त्रालयमा पोष्टिङ भएका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ । आफू श्रममा हुँदादेखि नै गृहमन्त्री रवि लामिछानेसँग पुरानो सम्बन्ध भएको कारण देखाउँदै उनी लाइन मिलाएर गृहसचिव खाने दौडमा रहेको बताइन्छ । 

अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आठ जना सचिवलाई थुपारिएको छ । अतिरिक्त समूहमा नुवाकोटे रामप्रसाद थपलिया जिम्मेवारविहिन अवस्थामा राखिएका छन् भने खगेन्द्रप्रसाद नेपालका लागि विशेष दरबन्दी श्रृजना गरिएको छ । यस्तै यसअघि जर्नादन शर्माको पालामा अर्थबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा पुगेका मधु मरासिनीलाई तोयम रायको ठाउँ (वाणिज्य) हेर्ने गरी खटाइएको छ ।  

यस्तै अवकाशको मुखमा पुगेका धनराज ज्ञवालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् (कानुन)बाट कानुन,न्याय मन्त्रालयमा पठाइएको छ । त्यहाँका सचिव उदयराज सापकोटालाई धनराजको ठाउँमा ल्याइएको छ । आजैको क्याबिनेटले आगामी २५ माघमा राष्ट्रियसभाको उपनिर्वाचन गर्ने  निर्णय गरेको छ । 

एमालेकोतर्फबाट राष्ट्रिय सभामा निर्वाचित सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको एक सिटमा उपनिर्वाचन हुन लागेको हो ।

टिप्पणीहरू