लिखुपिकेका विरामीलाई घरमै उपचार, औषधि पनि सित्तैमा

लिखुपिकेका विरामीलाई घरमै उपचार, औषधि पनि सित्तैमा

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले दीर्घरोगीलाई निःशुल्क औषधी वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७८/०७९ सालमै दीर्घरोगीलाई निःशुल्क औषधी वितरण गर्ने निर्णय भएकोमा अहिले कार्यान्वयनमा आएको हो । 

उपचारको अभावमा कसैले ज्यान गुमाउन नपरोस् र कमजोर आर्थिक अवस्था भएका नागरिकले पनि सहजै उपचार गर्न सकुन् भन्ने उद्धेश्यले यस्तो कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ । दीर्घरोगीहरुलाई औषधीको धेरै सेवन गर्नुपर्ने तर खर्चले धान्न नसक्ने भएकाले गाउँपालिकाले राहतका रुपमा औषधी वितरण गर्न लागेको गाउँपालिकाका स्वास्थ्य प्रमुख ज्ञानु कार्कीले बताए । 

उनले भने, 'गाउँपालिकाले २०७८/०७९ को बजेटमै स्थानीयहरुलाई निःशुल्क औषधी वितरण गर्ने भनेर बजेट छुटयाए पनि हाल यो नियम कार्यान्वयनमा ल्याएको हो ।' तीन महिनाअघिदेखि नै गाउँभित्र बसोबास गर्ने स्थानीयको डाटा संकलन गर्दै आएको र हिजोदेखि स्वास्थ्य चौकीमा औषधी वितरण गर्न थालिएको उनको भनाइ छ । 

जतिसुकै महंगो औषधी पनि गाउँपालिकाद्धारा दीर्घरोगीलाई वितरण गरिने र अर्को महिनादेखि स्वास्थ्यकर्मी खटाएर स्थानीयको घरघरमै पुगी स्वास्थ्य अवस्था चेकजाँच गरी औषधी वितरण गरिने उनको दाबी छ । साथै, औषधीको नाम टिपोट गर्न छुटाएका बिरामीले स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्नसक्ने पालिकाको स्वास्थ्य शाखा कार्यालयले जनाएको छ ।

टिप्पणीहरू