फुटबल खेल हुँदैछ कतारमा,यता केही नेपाली पैसा उठाउने हतारमा

फुटबल खेल हुँदैछ कतारमा,यता केही नेपाली पैसा उठाउने हतारमा

फिफा विश्वकप फुटबल चलिरहँदा  ‘रसियन बेटिङ एप्लिकेसन वन एक्स बेट’मार्फत सट्टाबाजी गराउने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् ।

महोत्तरी गाउँपालिका–१ घर भई, ललितपुर महानगरपालिका–२ सानेपा बस्ने २० वर्षीय आदर्श ठाकुर त्यसरी समातिएका हुन् । फिफा विश्वकप २०२२ लगायत खेल तथा गतिविधिहरुमा सट्टाबाजी गर्न प्रयोग हुने उक्त एप्लिकेसनमार्फत रकम संकलनमा एजेन्टहरू सक्रिय रहेको प्रहरीले जनाएको छ । 

हिजो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएका प्रहरीले उनलाई पक्राउ गरेका हुन् ।

उनले ८ महिनादेखि सट्टाबाजी गर्ने गरेको, बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा डिजिटल वालेट एकाउन्ट कारोबार गरेको,विभिन्न व्यक्तिका नागरिकताको प्रतिलिपिसमेत खरिद गरी सोबाट विभिन्न सेवा प्रदायकहरुको सिमकार्ड समेत खरिद गरेको, वालेटमा संकलित रकम आफ्नो खाता रहेको विभिन्न बैंकमा सारेको प्रहरीले जनाएको छ ।

उनले नबिल,सिद्दार्थ र एनआईसी एसिया बैंकमा क्रमश: ६९ लाख ६ हजार ७ सय ७० रुपैयाँ, ४५ लाख ५३ हजार ५ सय २३ रुपैयाँ र ८८ लाख २४ हजार १ सय ५५ रुपैयाँ गरी जम्मा २ करोड २ लाख ८४ हजार ४ सय ४८ रुपैयाँ वालेटबाट रकमान्तरण गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनलाई सट्टाबाजी गर्न गराउन नहुने कसूरअन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।

टिप्पणीहरू