प्रभुले पार्टीको नाम जुराए

प्रभुले पार्टीको नाम जुराए

एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव जितेका प्रभु साहले नयाँ पार्टी गठन गर्ने भएका छन् । रौतहट–३ बाट प्रतिनिधिसभामा विजयी उनले लामो आन्तरिक गृहकार्य र छलफलपछि  ‘आमजनता पार्टी’ नामको दल खोल्न लागेका हुन् ।

त्यसका लागि आगामी पुस ६ गते सातैवटा प्रदेशको प्रतिनिधित्व हुने गरी तदर्थ समिति गर्न काठमाडौंमा बृहत् भेला गरिने भएको छ । भेला व्यवस्थापनको जिम्मा इच्छाबहादुर वाग्ले, पार्टीको विधान तयार पार्ने जिम्मा साह आफैं र देशभरिका स्वतन्त्र सांसदमा उम्मेदवारी दिएर पाँच हजार मत ल्याएकालाई भेला पार्ने जिम्मा बद्रीप्रसाद न्यौपानेलाई दिइएको छ । 

न्यौपाने चुनावका बेला एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिएर साहको अभियानमा लागेका थिए । वाग्ले बाराबाट काँग्रेसका बागी उम्मेदवार हुन् ।

साहले प्रतिनिधिसभामा तीन र प्रदेशसभामा छ गरी नौ जना सांसद आफूसँग रहेको दाबी गरेका छन् । जसमा रौतहट–३ बाट उनी आफैँ, रौतहट–२ मा विजयी किरण साह र मोरङ–५ मा विजयी योगेन्द्र मण्डल छन् । 

स्वतन्त्र उम्मेदवार जिताउ अभियान नाम दिइएको यो समूहले गत शनिबार काठमाडौंको गौशालास्थित शिवम् पार्टी प्यालेसमा नवनिर्वाचित स्वतन्त्र सांसदहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा सांसद मण्डलले आफ्ना प्रतिनिधि पठाएका थिए भने किरण साह भने उपस्थित भएनन् ।

कार्यक्रममा स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभामा विजयी सुरुल पुन (रुकुम), दीपेन्द्रबहादुर पुन (रोल्पा), दीपेन्द्रबहादुर शाही (जुम्ला), खड्ग बस्नेत (नवलपरासी), केशव राय चौधरी (रौतहट) र जवाहरलाल कुशवाह (सर्लाही) लाई सम्मान गरिएको थियो ।

टिप्पणीहरू