रुपन्देहीमा निराशाजनक मतपरिणाम आएपछि नेतृत्वमाथि उठ्यो प्रश्न

रुपन्देहीमा निराशाजनक मतपरिणाम आएपछि नेतृत्वमाथि उठ्यो प्रश्न

रुपन्देही जिल्लामा निराशाजनक मतपरिणाम आएपछि नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले नेतृत्वमाथि नै प्रश्न उठाएको छ । निराशाजनक मतपरिणामले नेतृत्वको असमक्षता पुष्टि गरेको उनीहरुको भनाइ छ । 

समितिका सदस्य रामबहादुर कार्की, विष्णु पोखरेल,रमेश खनाल, हरिध्वज मल्ल,पूर्व सदस्य रमा अर्याल,जसवन्त कुँवर,नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य हरि न्यौपानेलगायतले हस्ताक्षर गरेको पत्रमा पार्टीको सबै तहले नैतिकताको आधारमा राजीनामा दिई पार्टीलाई नयाँ जीवन दिनु उचित हुने उल्लेख छ । 

‘रुपन्देही जिल्लामा प्राप्त निराशाजनक नतिजाले यस जिल्लाको नेतृत्वको असमक्षता पुष्टि  भएको अवस्थामा सबै तहका पार्टी नेतृत्वले सोको नैतिक जिम्मेवारी लिई राजीनामा दिएर पार्टीलाई नयाँ जीवन दिनु उचित भएकाले मार्ग प्रशस्त गर्न हामी जोडदार रुपमा माग गर्दछौं’,पत्रमा भनिएको छ । 

साथै,उनीहरुले पार्टीको सिध्दान्त एवम् विधानबमोजिम संस्थागत निर्णय निर्देशन पालना गरेको दाबी पनि गरेका छन् । त्यस्तै,समितिले गत मंसिर ११ गते रिपब्लिका दैनिक अनलाइन डटकम र नेपाल समाचारपत्रमा प्रकाशित समाचारको खण्डन गरेको छ । 

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बालकृष्ण खांण र प्रदेश सभा ३ (ख) तर्फका प्रत्यासी उम्मेदवार रामचन्द्र ढकाललाई हराउन अन्तरघात गरेको भन्दै कांग्रेस क्षेत्रीय कार्य समितिमाथि आरोप लगाई प्रकाशित भएको समाचार असत्य रहेको भन्दै समितिका पदाधिकारीहरुले आपत्ति जनाएका हुन् । 

कुनै प्रतिक्रिया नै नलिइकन नाम किटान गरी उम्मेदवारहरुलाई असहयोग गरेको भनी कपोकल्पित समाचार तथा पोष्ट भएको उनीहरुको दावी छ ।


 

टिप्पणीहरू