झापाबाट लिङ्देनको लगातार दोस्रो जीत

झापाबाट लिङ्देनको लगातार दोस्रो जीत

– लक्ष्मी काफ्ले

कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई हराउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । 

आज अपरान्ह सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार सिटौलालाई लिङ्देनले ३ हजार २७६ मतले पराजित गर्नुभयो । लिङ्देनले ४० हजार ६४८ मत ल्याउँदा सिटौलालाई भने ३७ हजार ३७२ मत प्राप्त भयो । १ लाख ३१ हजार ४३२ मतदाता रहेको झापा–३ मा कुल ८९ हजार ६३७ मत खसेको थियो ।

यस क्षेत्रको मतगणना सोमबार बिहानबाट सुरु भएको थियो । मतगणनाको सुरुवातदेखि अन्त्यसम्म नै लिङ्देनले अग्रता कायम राख्दै जीत हात पार्नुभयो । त्यसो त लिङ्देनले सिटौलालाई पराजित गर्नुभएको यो दोस्रो पटक हो । २०७४ सालको निर्वाचनमा लिङ्देनले सिटौलाले १३ हजार ४४३ मतान्तरले पराजित गर्नुभएको थियो । त्यसबेला एमाले र माओवादीसँग तालमेल गर्दा लिङ्देनले ४४ हजार ६१४ मत पाउनुभएको थियो । सिटौलाले भने ३१ हजार १७१ मतमा चित्त बुझाउनु परेको थियो । यसपटक माओवादी र कांग्रेस एकातिर हुँदा लिङ्देनलाई भने एमालेले मात्रै साथ दिएको थियो ।

सिटौला र लिङ्देनको यो चौथो चुनावी भिडन्त थियो । सुरुवाती दुईवटा निर्वाचनमा सिटौलासँग पराजित हुनुभएका लिङ्देन २०७४ सालको निर्वाचनमा तेस्रो प्रयासमा सांसद् बन्नुभएको थियो । यसपालि चौथो पटकको भिडन्तमा उहाँले सिटौलालाई दोस्रो पटक पराजित गर्नुभयो ।
लिङ्देनको राजनीतिक छलाङ

एक वर्षयता लिङ्देनले राजनीतिमा छलाङ मारिरहनुभएको छ । गत वर्ष राप्रपाको महाधिवेशनमा कमल थापालाई पराजित गर्दै पार्टी अध्यक्ष बनेपछि उहाँको राजनीतिक उचाई ह्वात्तै बढ्यो । अध्यक्ष बनेयता उहाँ फुर्सदिलो कहिल्यै हुनुुहुन्न । अध्यक्ष बनेकै भोलिपल्टदेखि उहाँ स्थानीय तहको निर्वाचन तयारीमा जुट्नुभयो । स्थानीय तहको निर्वाचन सकिने बित्तिकै प्रदेश तथा प्रतिनिधिसभाको तयारीमा लाग्नुभयो ।

२०७४ को निर्वाचनमा राप्रपाबाट विजयी हुने लिङ्देन एक्लो सांसद् हुनुहुन्थ्यो । यसपटक उहाँले संसद्मा उभिएरै भन्नुभएको थियो, ‘अब संसद्मा आउँदा म एक्लै हुनेछैन, साथीहरुसहित आउनेछु ।’ शालीन राजनीतिज्ञ लिङ्देनलाई यसपटकको निर्वाचनमा सहज भने थिएन । कांग्रेस र माओवादी उहाँलाई हराउन लागिपरेका थिए । तर, उहाँ रातदिन जनताबिच पुगिरहनुभयो ।

उता कमल थापाले पार्टी छाडेर छुट्टै दल ‘राप्रपा नेपाल’ सुरु गरिसक्नुभएको थियो । यस्तो अवस्थामा उहाँलाई आफ्नो जीत कायम राख्दै अन्य उम्मेदवारका पक्षमा पनि माहोल बनाउनु थियो । पार्टी दर्बिलो बनाउनु थियो ।

तर, लिङ्देनप्रति मतदाताको अटुट विश्वास देखियो । लिङ्देनले चर्चित अनुहारहरुलाई राप्रपामा भित्र्याउन सुरु गर्नुभयो । प्रवक्ता बनेर आउनुभएका ज्ञानेन्द्र शाही जुम्लाबाट भारी मतान्तरसहित सांसद् बनिसक्नुभयो । कमल थापाको गृहजिल्लामा लिङ्देनले खुब मेहनत गरेर दीपकबहादुर सिंहलाई जिताउन सफल हुनुभयो । ७ महिनाअघि मेयरमा पराजित दीपकले संसदीय चुनावमा कमाल नै गर्नुभयो । एमालेको चुनाव चिन्ह लिएर चुनावमा भिड्नुभएका कमल थापालाई दीपकले नमिठो हार चखाउँदै बिहीबार नै सांसद् बन्नुभयो ।

उता बाँके क्षेत्र नम्बर–२ बाट महामन्त्री धवलशमसेर जवराले मेयरबाट छलाङ् मार्दै संसद्को यात्रा तय गर्नुभयो । वरिष्ठ उपाध्यक्ष बनेर भर्खरै राप्रपामा आउनुभएका रवीन्द्र मिश्र भने यसपटक पनि अभागी सावित हुनुभयो । मिश्र १ सय ३२ मतको झिनो अन्तरले काठमाडौँ–१ बाट पराजित हुनुभयो । अघिल्लो पटक एक सिटमा सीमित राप्रपाले यसपटक भने यो समाचार तयार गर्दासम्ममा प्रत्यक्षमा चार सिट जितिसकेको छ । अन्य केही स्थानमा अग्रता कायम राखेको छ ।

टिप्पणीहरू