५० हजार मत कटाउने अडानमा देउवालाई किन लाग्यो ब्रेक ?

५० हजार मत कटाउने अडानमा देउवालाई किन लाग्यो ब्रेक ?

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातौं पटक संसदीय चुनावमा निर्वाचित हुनुभएको छ ।  हिजो बिहान सम्पन्न मतगणनामा २५ हजार ५३४ मतसहित उहाँ निर्वाचित हुनुभएको हो । त्यस्तै उहाँको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गर्नुभएको छ । 

ढकाललाई १२ हजार ४९२ मतले पछि पार्दै देउवाले जीत हात पार्नुभएको हो । नेकपा एमालेको समर्थनप्राप्त बीपी कांग्रेसका कर्ण मल्ल तेस्रो स्थानमा रहनुभयो ।  उहाँले जम्मा सात हजार ५३५ मत प्राप्त गर्नुभयो । 

२०४८ सालपश्चात् निरन्तर सबै निर्वाचनमा देउवा डडेल्धुराबाट निर्वाचित हुँदै आइरहनुभएको छ । प्रधानमन्त्री देउवाले यो चोटिको चुनावमा ५० हजार मत कटाएर विजय हासिल गर्ने दाबी गर्नुभएको थियो ।  उहाँले विजयी त हात पार्नुभयो तर ठोकुवा गरेजति मत ल्याउन सक्नुभएन । देउवाले समग्रमा ७० हजार मत खस्ने अनुमान लगाउनुभएको थियो । 

खसेकोमध्ये ५० हजार मत आफूलाई जाने उहाँको विश्वास थियो । तर, जम्माजम्मी ५१ हजार मत मात्र खस्यो । उहाँले अहिलेसम्म आफ्नो मत प्राप्तिको इतिहास तोड्ने दाबी गर्नुभएको थियो । पहिलेको हेरेर तुलानात्मक रुपमा उहाँले राम्रै मत ल्याउनुभएपनि आशा पूरा भएन । 

२०४८ को चुनावमा १४ हजार ५७७ मत प्राप्त गर्नुभएको थियो । त्यसपछि क्रमशः २०५१ मा २० हजार ७०२, २०५६ मा २८ हजार ६५१, २०६४ मा २० हजार ५२९, २०७० मा २३ हजार ९२० र २०७४ मा २८ हजार ४४ मत ल्याउनुभएको छ । 

यसपटकको चुनावमा उहाँको मत स्वतन्त्र उम्मेदवार ढकालले काटेको हुनाले कम भएको कांग्रेसीहरुको भनाइ छ  । मतदान केन्द्रमा मतदाताहरुको संख्या पनि निकै न्यून भएकाले सोचेअनुरुप मतदान हुन नसकेको उहाँहरुको बुझाइ छ । 

चुनावलाई लिएर मतदातामा अलिकति पनि उत्साह देखिएको थिएन । डडेल्धुरामा अत्याधिक मतपत्र बदरसमेत भएको थियो ।

टिप्पणीहरू