मायालु भनेर दंग, ज्यानचाहिँ अपांग

मायालु भनेर दंग, ज्यानचाहिँ अपांग

हामीले सुनेका, पढेका छौँ– मुनामदन, रोमियो जुलिएट । त्यसमा एक अर्काप्रति कति त्याग हुन्छ प्रेममा । मुनामदनमा मदन धन कमाउन ल्हासा जान्छन् । तैपनि, विवश भई मदन धन कमाउन ल्हासा जान्छन् । तर, फर्केर आउँदा धन त लिएर आउँछन् सँगसँगै श्रीमती र आमा पनि गुमाइसकेका हुन्छन् । यस्तै, प्रेमको एउटा घटना हो यो पनि । 

कात्तिक २८ गते । तिहार सकिएर कलेज जान सुरु भएको थियो । साथीहरूसँग भेटघाट उही रफ्तारमा भइरहेको थियो । पशुपति कलेजबाट बिहानको कक्षा सकाएपछि कहिले फनपार्क, कहिले चलचित्र हेर्न त कहिले कता–कता डुल्न गइन्थ्यो । जिन्दगी यसरी नै बिन्दास अनि गजबले नै साथीहरूसँग बितिरहेको थियो । कलेज जिन्दगी पढाइभन्दा पनि साथीहरूसँगै रमाएर बित्यो । सायद यो भोगाइ मेरो मात्र नभएर सबैको हुन सक्ला । 

मेरो एकदमै मिल्ने साथी थियो– अमर । हामी दुवैको भेट कलेजमै  भएको थियो, स्नातक भर्ना हुँदा । म ओखलढुंगाको, अमर पाँचथर । कलेज पढ्दा पहिलो भेटमै हामी यति निकट भएका थियौँ कि जता गए पनि सँगै । शनिबार प्रायः सिनेमा हल त कहिले घुम्न काठमाडौंका डाँडा उक्लिन्थ्यौँ । कहिले साथीहरूसँग जान्थ्यौँ, साथीहरू नभए पनि हामी दुवै जान्थ्यौँ । दुई भएपछि अरू कोही नचाहिने । 
पढाइमा हामी दुवै अब्बल थियौँ । अन्य साथीको तुलनामा हामी अलि बढी नै रोमान्टिक पनि थियौँ । क्लासमा हाम्रो चर्चा पनि उत्तिकै हुन्थ्यो । सबैसँग बोल्ने र सबैलाई आफ्नो साथी बनाइहाल्ने हाम्रो स्वभाव थियो । स्नातक पढ्दा यसरी नै समय बित्दै जाँदा अमर र म असल साथी बन्न पुगेका थियौँ । हामीले यसैगरी रमाइलो गर्दै स्नातक दोस्रो वर्षको परीक्षासमेत दियौँ । राम्रै नतिजा लिएर उत्तीर्ण पनि भयौं । अमर र म असल साथी बनेको समय पनि दुई वर्ष बितिसकेको थियो ।

परीक्षा दिइसकेपछिको छोटो बिदामा पोखरा घुम्न गयौं । एक साताको छुट्टी पोखरामा मज्जाले मनायौं । फेवाताल र बेगनास तालमा पौडी पनि खेल्यौं । पोखराको सुन्दरताको आनन्द सकेसम्म लुट्यौं, रमायौं । त्यतिखेरका ती रमाइला क्षण सम्झँदा मलाई लाग्छ– फेरि एकपटक त्यही अवस्थामा फर्किन पाए हुन्थ्यो । ६ वर्ष बित्यो । अमर अहिले भने बोल्न र हिँड्न सक्ने अवस्थामा छैनन् । पहिलोपटक मन पराएकी युवतीसँगै आफ्नो सारा जीवन कटाउँछु भन्ने अमर अहिले ह्वीलचेयरको सहारमा बाँच्नुपरेको देख्दा मन कटक्क हुन्छ । अमरको यस्तो अवस्था हुनुको पछाडि एउटा बेग्लै कहानी छ ।

र अमर तेस्रो बिए वर्षमा अध्ययनरत थियौँ । हामी कलेज छुट्टी भएर घर फर्कनका लागि गाडी कुरिरहेका थियौं । कात्तिकको समय चिसो मौसमले समाउँदै थियो । बिहान कलेज जानका लागि उठ्नै गाह्रो ।  तैपनि कलेज जानै पर्ने बाध्यता । त्यो दिन दुवै जना कलेज जान गाडी पर्खिरहेका थियौँ । हामी गाडी पर्खिरहेको नजिकै एउटी गाहुँगोरी युवती पनि कलेज जान तयार थिइन् । कलेजबाट फर्कंदा पनि उनी नै गाडीको प्रतीक्षामा थिइन् । हेर्दा चिटिक्क परेकी, जिउडाल मिलेकी । 

न चिनजान, न कुनै परिचय तिनै युवतीप्रति अमर पहिलो भेटमै लठ्ठिए । पहिलो दिन थियो, त्यसैले अमरले ती युवतीलाई वाच मात्र गरेका थिए । अमर ह्याण्डसम थियो । पहिलो भेटमा युवती पनि अमरको रुपमा पग्लिएका हुन सक्छन् । उनी पनि अमरप्रति बोलुँलाझैँ गरिरहेकी थिइन् । तर, गाडी आइपुगेको कारण तिनीहरूको बोलचाल भने हुन सकेन । त्यो दिन उनी बीच बाटोमै ओर्लिइन्, अमरले मायाको नजरले हे¥यो । 

भोलिपल्ट पनि त्यस्तै भयो । हामी कलेजबाट घर जानका लागि गाडी कुरिरहेका थियौं । उनी पनि  गाडी चढ्दै थिइन् । गाडी चढे पनि उनी अमरप्रति आकर्षित भएको आभाष हुन्थ्यो । गाडी चढिसकेपछि पनि झ्यालबाट अमरलाई नियालिरहेको देखिन्थिन् । तैपनि बोलचाल थिएन । मलाई एक जना साथीले भनेको थियो– केटी जहिल्यै इमोसनल हुन्छिन्, पहिलोपटक केटाले नै बोलाउने हो, केटीले कहिल्यै पनि मुख फोर्दिनन् । त्यही कुरा अमरलाई भने । 

तेस्रो दिन भने अमरले मैले भनेको कुरालाई प्राथमिकता दिएछ । त्यो दिन आँट कसेरै भए पनि उनलाई अमरले बोलाउने निधो ग¥यो । हामीले आफ्नो कक्षा सकिनु आधा घण्टाअगावै घर जान भन्दै हिड्यौँ । कक्षा हापेर जानु उनलाई भेट्नु थियो । उनलाई भेट्न गाडी चढ्ने स्थानतिर लाग्यौं । गाडी चढ्ने ठाउँ पुगेर हामी उनलाई कुरिरहेका थियौं, उनी पनि टुप्लुक्कै त्यहाँ आइपुगिन् । अमरले उनलाई बोलाउने आँट कसे । उनलाई पनि अमरसँग बोलौँझैं लागेको भएको रहेछ । अमरले हेल्लो भनेर बोलाए तर उनी बोलिनन् । त्यसपछि अमरले पनि दोहोर बात गर्न सकेनन् । त्यसपछि अमर र म आफ्नो कोठातर्फ लाग्यौं । प्रणय दिवश अर्थात् ‘भ्यालेनटाइन डे’ आउन निकै पर थियो । तैपनि अमरलाई प्रेम प्रस्ताव राख्न उकुसमुकुस भइरहेको थियो । 

भोलिपल्ट उनी एक युवतीसँग साथीसँग देखिइन् । मैले उनको साथीलाई बोलाएर दुवैको नाम सोध्ने आँट गरेँ । उनले आफ्नो नाम नेहा बताइन् । उनको नामचाहिँ रहेछ– जिया । जसलाई अमरले एकोहोरो मनपराइरहेका थिए । उनीहरू पनि हामीसँगै स्नातक दोस्रो वर्षको परीक्षा दिएर तेस्रो वर्षमै अध्ययन गरिरहेका रहेछन् । उनीहरूको फ्याकल्टी म्यानेजमेन्ट रहेछ, हाम्रो भने मानविकी । त्यसमा पनि पत्रकारिता अध्ययन गरिरहेका थियौं । जियाकी साथी नेहासँग हाम्रो दोस्ती जम्न सुरु भइसकेको थियो । तर पनि जियासँग भने कुनै बोलचाल हुन सकिरहेको थिएन । उनको एकतर्फी मायामा भिजिसकेका अमरले भने फुब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे आउन ४ महिना बाँकी रहँदै जियाका लागि विभिन्न गिफ्टका आइटम जोरजाम गर्न शुरु गरिसकेको थियो ।  म ती दृश्यबाट छक्क परेको थिएँ । मायामा त्यसरी पग्लिएको र फसेको मान्छे देखेको थिइनँ ।   

अमर अब पढाइभन्दा बेसी जियाको मायामै पागल बनेको थियो । त्यो दिन जियाको बर्थडे भनेर नेहाले मलाई सुनाएकी थिइन् । नेहाले अघिल्लो दिन भनेपछि मैले अमरलाई त्यो कुरा सुनाएको थिएँ । त्यो दिन अमर यति खुबी भएको थियो सायद त्यसरी खुबी कहिल्यै भएको थिएन । त्यस दिन अमर र म बिहानै कलेजतिर हान्निने योजना बनाएका थियौँ । तर, त्यसदिन मेरो व्यस्तताले गर्दा म भने केही समय ढिला हुन पुगेको थिएँ । तर अमर कलेज पुगिसकेका थिए । म कलेज पुग्दा मान्छेको भीड थियो । ‘बिचरी, यो लाउँलाउँ उमेरमा गइन्’, कोही भनिरहेकी थिएँ, ‘गाडी हेरेर चलाउनुपर्छ नि !’ कोही यसरी नै समवेदना पोखिरहेका थिए । तैपनि मलाई के भएको हो थाहा थिएन । कानले भने सबै सुनिरहेको थियो । यी सब सुनेपछि खास के भएको रहेछ भनेर अघि बढँे । एक जना युवती कलेज नजिकैको सडकछेउमा लडिरहेका रहेछन् । को रहेछ ती युवती ? म सोधखोज गर्नतिर लागेँ । 

त्यसरी सडकमा लड्ने युवती कोही नभएर जिया नै रहेछिन् । गाडीबाट ओर्लिएर हतारहतार बाटो काट्न लाग्दा जियालाई गाडीले ठक्कर दिएको रहेछ । गाडीको ठक्करबाट जियाको त्यहीँ प्राणपखेरु गएछ । जियाको त्यो दर्दनाक हालत देखेर अमर सडक छेउमै ढलेका रहेछन् । अझै पनि अमर कोमामै छन् । न उनी बोल्न सक्छन्, न त हिँडडुल गर्नै ! उनका अंग चल्दैनन्, मस्तिष्कले काम गर्न छाडेको छ । सायद माथि कतैबाट जियाले अमरलाई आफूले भन्न नसकेका प्रेमिल भावहरूलाई व्यक्त गरिरहेकी होलिन् । जब–जब कात्तिक २८ गते आउँछ, मेरो मनमा अमर र जिया झलझली नाच्न थाल्छन् । 
 

टिप्पणीहरू